
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा आएको इडाइ आँधीका कारण आएको बाढीमा फसेकाहरूलाई सहायता गर्नका लागि सहायता निकायहरूलाई अप्ठ्यारो परेको छ ।
परोपकारी संस्थाहरूले विनाशकारी बाढीका कारण हजारौं मानिस फसेको र उनीहरू छतमा वा रुखमा अड्केको बताएका छन् ।
तटीय शहर बीरामा सहायताकर्मीहरूले जम्मा दुईदेखि तीन दिनसम्मको सफा पानी बाँकी रहेको बताएका छन् ।
मोजाम्बिक र जिम्बाब्वेमा लगभग ३०० मानिसको मृत्युको पुष्टि भइसकेको छ तर मृत्युसंख्या बढ्ने अपेक्षा छ ।
खानेकुरा र सफा पिउने पानीको अभाव हुँदै जाँदा रोग फैलिने जोखिम बढ्दै गएको स्वास्थ्य संस्थाहरूले चेतावनी दिएका छन् ।
अघिल्लो बिहीवार बीरामा आएको आँधीसँगै १७७ किलोमिटर प्रतिघन्टाको दरले हावा चलेका थिए । आँधी जमीनमा प्रवेश गरेपछि जिम्बाब्वे र मलावीमा विनाश मच्चिएको थियो ।
‘तपाईं आउनेबित्तिकै देख्ने पहिलो कुरा विनाश र थुप्रो पानी हो,’ मेडेसिन्स सान्स फ्रन्टियर्सका आपतकालीन संयोजक गेट भर्नडोकले बताए ।
‘मानिसहरू क्लोरिन नहालेको इनारको पानी प्रयोग गरिरहेका छन् र त्यो पानी सफा नहुनसक्ने सम्भावना छ । निमोनिया र अन्य श्वासप्रश्वाससम्बन्धी रोग समस्याका रूपमा देखिनेछ,’ उनले बीराबाट रोयटर्सलाई बताए ।
छिमेकी देशहरूबाट बगेर आउने नदीको बाढीको क्षति मोजाम्बिकले बेहोर्नुपरेको सहायता समूहहरूले बताएका छन् । मोजाम्बिकमा कम्तीमा २०० जना मारिएको पुष्टि भइसकेको छ तर थुप्रै क्षेत्रहरूमा अझै पुग्न सकिएको छैन ।
इन्टरनेसनल फेडरेसन अफ रेड क्रसकी एक अधिकारी क्यारोलाइन हागाले बीराको पश्चिममा रहेको बुजी नदीनजिकका क्षेत्र सर्वाधिक प्रभावित रहेको बताइन् ।
उद्धारकर्मीहरूले पानी र हिलोबाट घेरिएका मानिसका लागि उच्च शक्ति भएका बिस्कुट, पानी सफा पार्ने ट्याब्लेट तथा अन्य आपूर्तिहरू झारिरहेको उनले बताइन् ।
‘हजारौं मानिस छत र रुखमा चढेर उद्धारको प्रतीक्षा गरिरहेका छन्,’ हागाले एएफपीलाई बताइन् ।
बीबीसीबाट