
काठमाडौं – भारतमा हुन लागेको आमनिर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले शनिवार उम्मेदवारहरूको फेरि अर्को सूची जारी गरेको छ ।
थप १०२ उम्मेदवारको नाम घोषणा गरिएको छ । केन्द्रीय मन्त्री रविशंकर प्रसादलाई बिहारको पटना साहिबबाट उठाइएको छ । सन् २०१४ मा त्यहाँबाट शत्रुघ्न सिन्हाले चुनाव जितेका थिए ।
झारखण्डको हजारीबागबाट जयन्त सिन्हा र उत्तरी गोवाबाट श्रीपद नाइकलाई पुनः जित्ने अवसर दिइएको छ ।
भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई यसपालि उम्मेदवार बनाइएको छैन । गुजरातको गान्धीनगर क्षेत्रबाट उठ्ने गरेका आडवाणीलाई हटाएर भाजपा अध्यक्ष अमित शाहलाई उठाइएको छ । उनलाई हटाएपछि मुरली मनोहर
जोशी र कलराज मिश्रा जस्ता वरिष्ठ नेतालाई पनि टिकट नदिइने सम्भावना छ । टिकट नपाएपछि उनीहरूले सक्रिय राजनीतिबाट संन्यास लिन सक्छन् ।
भाजपाले केरला इकाइका महासचिव के सुरेन्द्रन हालै भएको सबरीमाला आन्दोलनमा महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने पक्षधर अभियन्ता थिए र उनलाई मन्दिर भएकै क्षेत्र पठानमथिट्टा क्षेत्रबाट उम्मेदवार बनाइएको छ ।
भाजपाका प्रमुख सचेतक अनुराग ठाकुरलाई हिमाचल प्रदेशको हमिरपुरबाट उठाइएको छ भने राष्ट्रिय प्रवक्ता सम्बित पात्रा उडिसाको पुरीबाट लड्दैछन् ।
बिहारमा भाजपा नेतृत्वको गठबन्धन एनडीएले राज्यका ४० मध्ये ३९ सीटमा उम्मेदवारीको घोषणा गरेको छ । उसले एक मुसलमान र तीन महिला उम्मेदवार उठाएको छ । सन् २०१४ को चुनावमा बिहारमा भाजपाका एक मात्र मुसलमान नेता शाहनवाज हुसेनले भागलपुरबाट चुनाव लडेर हारेका थिए । उनलाई उम्मेदवारको सूचीबाट हटाइएको छ ।
दी इन्डियन एक्सप्रेसबाट