
काठमाडौं– सरकारले समयमै उचित निर्णय नलिँदा चिनियाँ अनुदानको करीब ११ हजार लिटर खानेतेल ‘ड्यामेज’ भएपछि लिलामीमा दिने प्रक्रिया अघि बढेको छ ।
नाकाबन्दीको समयमा गत साल पुस २८ गते चीन सरकारले १० हजार ६ सय लिटर तेल अनुदानस्वरूप नेपाल सरकारलाई उपलब्ध गराएको थियो । भूकम्पपछिको पुनर्निर्माण तथा राहतका लागि नेपाललाई उपलब्ध गराउने भनेर प्रतिबद्धता जनाएको रकमबाट कटाउने गरी चीन सरकारले उक्त परिमाणको तेल नेपाल सरकारलाई दिएको थियो ।
खानै नमिल्ने तेल दिएको थियो चीनले
चीन सरकारले अनुदानस्वरूप नेपाल सरकारलाई तेल उपलब्ध गराएपछि तेलको उपभोग गर्न मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरेको थियो ।
विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार गत सालकै फागुनमा तेल परीक्षण गर्दा खान नमिल्ने देखिएको थियो । प्रयोगशाला परीक्षणबाट उक्त तेल न्यून गुणस्तरको देखिएको विभाग बताउँछ ।
‘खाद्य ऐन अन्तर्गत न्यून गुणस्तरको देखिएको उक्त तेल खान नमिल्ने प्रतिवेदन हामीले खाद्य संस्थानलाई गत साल नै दिएका थियौं,’ विभागका प्रवक्ता वस्तीले लोकान्तरसँग भने ।
सामान्तया शून्य दशमलब ५ भन्दा कम ‘एसिड भ्यालु’ भएको तेलमात्र उपभोग्य गुणस्तरको हुन्छ । तर प्रयोगशाला परीक्षणका क्रममा उक्त तेलको एसिड भ्यालु १ दशमलब ५ थियो ।
यसैगरी तेलमा लेबलिङ प्रस्ट उल्लेख नभएको विभाग बताउँछ ।
विभागका अनुसार उक्त तेल प्रशोधित वा कच्चा के हो भन्नेसम्म पनि स्पष्ट हुन सकेको छैन । कच्चा तेल त प्रशोधन गर्ने प्रयोजनबाहेकमा आयात गर्न पनि प्रतिबन्धित छ । त्यस्तै, कुन वस्तुको तेल हो भन्नेमा पनि विभाग स्वयं अनभिज्ञ छ ।
लिलाम बढाबढ गरेर बेच्ने प्रक्रिया शुरु
खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले खान अयोग्य देखिएकाले उक्त तेल अब लिलाम बढाबढ गरेर बेच्ने प्रक्रिया अघि बढेको लोकान्तरलाई बताए । ‘गत साल नै तेल खान नमिल्ने भनेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रतिवेदन दिएको थियो,’ प्रवक्ता सापकोटाले भने, ‘सोहीअनुरूप वैकल्पिक उपयोगका लागि अब लिलाम बढाबढ बेच्ने गरी प्रक्रिया अघि बढेको छ ।’
‘वैकल्पिक प्रयोगमा बेच्नका लागि त्यसको प्रस्ताव सञ्चालक समितिमा पेश भइसकेको छ,’ प्रवक्ता सापकोटाले थपे, ‘आगामी सञ्चालक समितिको बैठकले निर्णय गर्नेछ ।’
अब के गर्ने ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार खान नमिल्ने खालको यस्तो तेल साबुन फ्याक्ट्रीमा उपयोग हुन सक्छ । त्यस्तै, बत्ती बाल्ने प्रयोजनका लागि पनि यस्तो तेल प्रयोग गर्न सकिन्छ ।
कहाँ छ तेल ?
चीन सरकारले दिएका तेल खाद्य संस्थानले थापाथलीस्थित आफ्नो शाखा सदर धान गोदाममा भण्डारण गरेर राखेको छ । ५३ ड्रम तेल अहिले कार्यालयको गोदाममा भण्डारण गरेर राखिएको छ ।