०४ असार २०८३, बिहीबार

विद्यालयमा सिकाइ उपलब्धि : बाहुनक्षेत्री नेपाली विषयमा र नेवार विद्यार्थी गणितमा अब्बल !

साउन २१, २०७६
विद्यालयमा सिकाइ उपलब्धि : बाहुनक्षेत्री नेपाली विषयमा र नेवार विद्यार्थी गणितमा अब्बल !

काठमाडौं – विषयगत नतिजाका आधारमा नेपाली विषयमा छात्रा र गणितमा छात्रको सिकाइ उपलब्धि राम्रो रहेको पाइएको छ ।

देशभरिका १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत विद्यालयका १५ प्रतिशत र सामुदायिक विद्यालयको ६ प्रतिशतभन्दा बढी विद्यार्थीले ट्युसन पढ्ने गरेको उल्लेख गरिएको छ ।

केन्द्रले कक्षा ५ का गणित र नेपाली विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गरेको थियो । नेपालीमा सय विद्यालयका १४ हजार २ सय ७ विद्यार्थी र गणितमा ७ सय विद्यालयकै १४ हजार १ सय ७४ विद्यार्थीको उपलब्धि परीक्षण गरिएको थियो ।

सिक्नका लागि कसैबाट सहयोग नपाएको बताउने औसत नेपालीमा ५ सय १ र गणितमा ५ सय ४ छन् । नेपाली बुवाबाट भन्दा आमाबाट सिक्ने औसत धेरै छ भने गणितमा आमाको तुलनामा विद्यार्थीले बुवाबाट नजानेको कुरा सिकेको औसत धेरै छ ।

बुवाबाट सिक्ने नेपालीमा ४ सय ९७ र गणितमा ५ सय १ हुँदा आमाबाट सिक्ने नेपालीमा ५ सय २ र गणितमा ५ सय रहेको अध्ययनले देखाएको छ । दाजु वा दिदीबाट गणितमा ४ सय ९९ र नेपालीमा ५ सय र साथीबाट नेपालीमा ४ सय ९७ र गणितमा ४ सय ९५ रहेको छ ।

ब्राह्ममण/क्षेत्री नेपाली विषयमा सबैभन्दा राम्रा रहेको अध्ययनले देखाएको छ । काठमाडौंका नेवार समुदायका विद्यार्थी गणितमा सबैभन्दा राम्रा देखिएका छन् ।

स्नातकोत्तर तह पूरा गरेका अभिभावकका छोराछोरीको नेपाली विषयको सिकाइ उपलब्धि उच्च देखिएको छ । निरक्षर अभिभावकका छोराछोरी गणितमा सबैभन्दा राम्रा देखिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले कक्षा ५ का विद्यार्थीको सिकाइ उपलब्धिबारे अध्ययन गरेको प्रतिवेदनमा सो विषय उल्लेख गरिएको छ । प्रतिवेदन सोमवार सार्वजनिक गरिएको थियो ।

अध्ययनले शिक्षण सेवामा रहेका अभिभावकको सिकाइ उपलब्धि उच्च रहेको देखाएको छ । अर्काको घरमा काम गर्ने अभिभावकका छोराछोरीको सिकाइ उपलब्धि कम रहेको सोही अध्ययनले देखाएको छ ।

विद्यालयको पढाइसंगै ट्युसन पढ्ने विद्यार्थीको पढाइ स्तर राम्रो रहेको अध्ययनले देखाएको छ ।

ईआरओका अधिकृत श्यामप्रसाद आचार्यले भने, ‘विद्यार्थीको औसत प्रतिशत निकाल्दा ट्युसन पढ्ने विद्यार्थीको स्तर उच्च रहेको देखिएको छ ।’

ईआरओले सिकाइ उपलब्धिको राष्ट्रिय औसतका रुपमा ५ सय अंकलाई आधार मानेको छ । अध्ययनले साथी, दिदी, दाइ, बाबु, आमा वा ट्युसनको सहयोग नलिएकाहरूको सिकाइ उपलब्धि राष्ट्रिय औसतभन्दा कम रहेको प्रष्ट गरेको छ ।

‘अभिभावकको साथ लिएर अध्ययन गर्दा पढाइको स्तर बढेको सावित भएको छ,’ ईआरओका प्रमुख सहसचिव टेकनारायण पाण्डेले भने ।

अध्ययन प्रतिवेदनले कक्षा ५ मा नेपालीमा प्रदेश २ का विद्यार्थी सबैभन्दा कमजोर र गण्डकी प्रदेशका विद्यार्थी सबैभन्दा अब्बल देखाएको छ । गणितमा सबैभन्दा कमजोर प्रदेश १ र सबैभन्दा अब्बल प्रदेश २ का विद्यार्थीहरू रहेका छन् ।

जातजाति तथा घरमा बोलिने भाषाको आधारमा हेर्दा दुवै विषयमा सिकाइ उपलब्धिमा उल्लेखनीय भिन्नता रहेको देखिन्छ तर छात्रा र छात्रको सन्दर्भमा सिकाइ स्तरको भिन्नता न्यून नै देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको प्रतिवेदनमा औल्याइएको छ ।

विद्यालय र विद्यालयको व्यवहार बालमैत्री नभएको उल्लेख गर्दै अध्ययनले विद्यालयमा दुव्र्यवहार महसुस गर्ने विद्यार्थी ४७ प्रतिशत रहेको देखिएकाले बालबालिकाहरुलाई सुरक्षित वातावरण बनाउन र कुनै दुर्व्यवहार हुन नदिन सुझाव दिइएको छ ।

पाठ्यपुस्तक प्राप्त नभएका विद्यार्थीको सिकाइ उपलब्धि न्यून देखिएको छ । अध्ययन प्रतिवेदनले शैक्षिक सत्रको अन्तसम्ममा करिब ३–४ प्रतिशत विद्यार्थीले आफूहरूसँग पाठ्यपुस्तक नभएको प्रतिक्रिया दिएको उल्लेख छ ।

केन्द्रले शैक्षिक सत्र २०६८ मा कक्षा ८ मा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण सुरु गरेको थियो । सन् २०१५ सम्म कायम रहेको विद्यालय क्षेत्र सुधार योजना अवधिमा कक्षा ३, ५ र ८ कक्षामा दुईपटक परीक्षण सम्पन्न गरी प्रत्येक परीक्षणका नतिजा तथा प्रतिवेदनहरू सार्वजनिक गरिएको थियो ।

२०७५ साल फागुनमा देशभरबाट नमुना छनोटमा परेका २४ जिल्लाका १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थी, १ हजार ४ सय शिक्षक र १ हजार ४ सय नै प्रधानाध्यापकको प्रतिक्रियाका आधारमा प्रतिवेदन तयार पारिएको हो ।

यसैबीच शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) द्वारा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सिकाइ उपलब्धि सुधार गर्न नीति बनाउने जिम्मेवारी कसको हो भन्नेमा गम्भीर बन्नुपर्ने बताए ।

शिक्षाविद् मनप्रसाद वाग्ले, नेपाल शिक्षक महासंघका उपाध्यक्ष तिलक कुँवर, अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी, प्याब्सनका सहअध्यक्ष डिके ढुंगाना, एन प्याब्सनका महासचिव सुवास न्यौपाने, महिला शिक्षक समाजका अध्यक्ष डा. जानुका नेपाल लगायतले प्रतिवेदनअनुसार नीति बनाउनुपर्ने, कक्षा कोठाको सुधार गर्नुपर्ने जस्ता विषयमा जोड दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्