
मंगलवार दिउँसो पौने ३ बजे । प्रधानमन्त्रीसँग भेटघाटका लागि निम्त्याइएका विभिन्न सञ्चारमाध्यमका आधाभन्दा बढी सम्पादक समयमै प्रधानमन्त्री निवासको बैठक कक्षमा प्रवेश गरिसकेका थिए । सवा ३ बजेतिर प्रेस सल्लाहकार सूर्य थापा बैठक कक्षमा आएर भन्छन्, ‘एकजना सम्पादकजी आउँदै हुनुहुन्छ, उहाँलाई नै पर्खेको है !’
साढे ३ बजिसक्यो । ती सम्पादक अझै आएनन् । अनि फेरि थापा बोल्छन्, ‘जाममा हुनुहुन्छ रे, केहीबेरमै आउनुहुन्छ रे !’
‘ठीकै हो, संसद बैठक पूर्ण भएपछि चलेकै राम्रो,’ अर्का सम्पादक प्रतीक प्रधानले ठट्यौली पारामा टिप्पणी गरेपछि कोठामा हाँसो गुन्जियो ।
पौने ४ बजेतिर ती सम्पादक (तीर्थ कोइराला दाइ) बैठक कक्षमा प्रवेश गर्छन् । एकछिन हाँसो ठट्टा चल्छ । लगभग ४ बज्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख सल्लाहकार विष्णु रिमालसहित २५ जना सम्पादक बसेको बैठक कक्षमा प्रवेश गर्छन् । बैठकको शुरूमै प्रधानमन्त्री ओलीले भने, ‘आज राति ८ बजेसम्म यहीँ बस्ने हो भन्ने साथीहरूलाई थाहा छ नि ! सारङ्गीको धुन पनि सुन्ने, डिनर पनि सँगै खाने !’
सल्लाहकार थापा संवादको थालनी गर्छन्, ‘आजको भेटघाटमा प्रधानमन्त्रीले शुरूमा तपाईंहरूको धारणा सुन्नुहुनेछ, त्यसपछि आफ्नो भनाइ राख्नुहुनेछ ।’
थापाको भनाइ नसकिँदै प्रधानमन्त्रीले बीचमै रोकेर भने, ‘म तपाईं (सूर्य थापा) को भनाइलाई संशोधन गर्न चाहन्छु । सम्पादकहरूले आज धारणा राख्ने मात्र होइन, मन्तव्य नै राख्न सक्नुहुन्छ ।’
बलिङ र ब्याटिङको प्रसङ्ग
प्रधामन्त्रीको संशोधनयुक्त वाक्य सुनेपछि थापाले सम्पादकहरूलाई आफ्नो भनाइ राख्न आग्रह गरे । सबैभन्दा पहिले प्रेस स्वतन्त्रता विरोधी कानून, त्यसभित्र लुकेको सरकारको नियतबारे प्रश्न उठ्यो । सम्पादकहरूको सरोकार थियो – सरकारले प्रेसलाई सहज रुपमा लिएन । सम्पादकहरूलाई सरकारका राम्रो कामको समाचार लेख्न नसक्ने मुटु नभएका भनियो । सरकारले प्रेसको आलोचना सहन सकेन । दुश्मन देख्न थाल्यो । प्रेसप्रति असहिष्णु भयो । आलोचना मात्र गरिरह्यो ।
प्रेस स्वतन्त्रता बारेको प्रश्नमा प्रधानमन्त्रीको जवाफ आयो –
'म ५५ वर्ष स्वतन्त्रताका लागि लडें । स्वतन्त्रताको अभाव कस्तो हुन्छ ? म राम्रैसँग बुझ्छु । यो सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै कदम चाल्ने छैन, त्यसमा ढुक्क हुनुहोस् । ल ठीक छ म त सम्पादकहरूप्रति अलि असहिष्णु भए रे ! अनि तपाईंहरू चाहिँ कति असहिष्णु हुनु भएको नि ? मैले सानो विषयमा कुन सन्दर्भमा के भन्छु तर तपाईंहरू मैले गरेको टिप्पणीभन्दा धेरै पर पुगेर के–के न भयो भनेर गुनासो गर्नुहुन्छ । लेख्न थाल्नुहुन्छ । तपाईंहरू पनि त सहिष्णु देखिनु भएन नि !'
प्रधानमन्त्री त्यतिमै रोकिएनन् । उनले सभ्य समाज निर्माणका लागि सरकारले केही विषय र कानूनमा सीमा तोक्न खोजेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले ठट्यौली पारामा भने, ‘तपाईंहरू बलिङ गरेको गर्यै गर्ने अनि मैले चाहिँ ब्याटिङ नगर्ने ?’
प्रधानमन्त्रीले प्रेस स्वतन्त्रता हनन् हुने कुनै काम नगर्ने स्पष्ट त पारे तर सम्पादकको मुटुमाथि प्रश्न उठाउन भविष्यमा पनि नछोड्ने घुमाउरो सन्देश दिए । बलिङ र ब्याटिङको प्रसङ्गले त्यसैको संकेत गथ्र्यो । प्रधानमन्त्रीले नाम नलिकइकन २ शक्तिशाली देश (सम्भवतः अमेरिका र चीन) को प्रेस, प्रेसलाई हेर्ने ती २ देशको परिवेश र सामाजिक उत्तरदायित्वबारे केही भन्न खोजे घुमाउरो पारामा । तर उनले नाम किटान गरेनन् र त्यसलाई त्यति तन्काएनन् । उनले एउटा शक्तिशाली देशले विकाससँगै सभ्यता को कुरा गर्छ तर अर्को देशले चाहिँ विकासको मात्र कुरा गर्छ भन्न मात्र भ्याए ।
सवाल–जवाफको क्रममा पाका पत्रकार तीर्थ कोइराराले भने, ‘यहाँ त कस्तो माहोल देखियो भने हामीले प्रधानमन्त्रीलाई विकास निर्माण र देश बनाउन सिकाउने अनि प्रधानमन्त्रीले चाहिँ हामीलाई पत्रकारिता सिकाउने जस्तो भयो ।’
कोइरालाको यो भनाइ सुनेर प्रधामन्त्री हाँसे र थपे, ‘म पनि त्यहीँ भन्न खोज्दैथें । ठीक भन्नुभो ।’
केही समय पहिले उद्योगी व्यवसायीको कार्यक्रममा प्रधानमन्त्रीले ‘सरकारका राम्रो कामबारे लेख्न सक्ने मुटु भएका सम्पादक छैनन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
पाएको अवसर किन खेर फाल्थे तीर्थ कोइराला ? उनले आफ्नो बोल्ने पालोमा दह्रो दिए, ‘प्रधानमन्त्रीज्यू, खासमा सम्पादकको भन्दा देश चलाउने प्रधानमन्त्रीको मुटु धेरै गुणा ठूलो हुनु आवश्यक हुन्छ । सम्पादकले त न्यूज रुम चलाउने हो तर प्रधानमन्त्रीले त देश चलाउने हो नि ! देश चलाउनेको मुटु स्वभावैले ठूलो हुनुपर्ने होइन र ?’
कोइरालाको भनाइ सुन्दै गर्दा प्रधानमन्त्री खासै गम्भीर देखिँदैनथे ।
प्रेस स्वतन्त्रताका सवालमा सम्पादक प्रतीक प्रधान, अमित ढकाल र किरण नेपालले कडा प्रहार गरे । ‘कुन प्वालबाट, के स्वार्थ र नियतका आधारमा यस्ता कानून ल्याइन्छन् र ल्याउनु अघि किन सरोकारवालासँग पर्याप्त छलफल गरिँदैन ?’ प्रश्नहरू मुलतः यसकै वरिपरि थिए ।
प्रधानमन्त्रीले जवाफ फर्काए, ‘हामीलाई बाटोमा हिँड्न स्वतन्त्रता छ तर कसरी हिँड्ने भन्ने चाहिँ ख्याल गर्नु जरुरी हुन्छ । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि ख्याल गर्दा राम्रो होला कि ! के नेपालमा अहिले पूरै नियन्त्रित अवस्था छ र ? तपाईंहरूले जे पनि छाप्न हुने तर हामीले अलिकति भन्दा चाहिँ यत्रो असहिष्णुता ?’
प्रधानमन्त्री प्रेसको भूमिकाबाट सन्तुष्ट छैनन् भन्ने उनको भनाइबाट स्पष्ट हुन्थ्यो तर उनले जवाफ चाहिँ शालीन शैलीमा फर्काए । प्रेस स्वतन्त्रता हनन्का कुनै गतिविधि सरकारबाट नहुने पटक–पटक दोहोर्याए तर आगामी दिनमा पनि प्रेसको भूमिकाबारे आफ्ना अभिव्यक्ति नरोकिने संकेत उनको असन्तुष्टिबाट बुझ्न सकिन्थ्यो ।
'पत्रकारलाई लाइसेन्सको व्यवस्था गर्ने कुरा किन चाहियो ? संसारमा कहीं छ यस्तो ?' प्रश्न उठ्यो ।
प्रधानमन्त्री ओलीले राम्रोसँग बुझेनछन् क्यारे, सोधे, 'हँ, के भन्न खोज्नुभाको ? मैले बुझिन नि !' त्यसपछि कसैले भन्यो, 'अब पत्रकारले पनि परीक्षा दिएर लाइसेन्स लिनुपर्ने कानूनको चर्चा भइरहेको छ नि त प्रधानमन्त्री ज्यू ?' बल्ल प्रधानमन्त्रीले बुझेछन् । हाँस्दै टाउको हल्लाए र सोधे, 'किन तपाईंहरू नपढीकन पत्रकारिता पेशामा आउनु भएको छ र ?'
सुन्दा सामान्य लागेपनि प्रधानमन्त्रीको प्रश्नभित्र गम्भीर अर्थ लुकेको बुझ्न सकिन्छ किनभने नेपाली पत्रकारिता क्षेत्रमा पेशागत समस्याहरू टन्नै छन् । तीमध्ये प्रमुख रूपमा उठेको एउटा विषय पत्रकारहरूको शैक्षिक योग्यता पनि हो ।

‘काम गर्नुअघि तपाईंहरूलाई सम्झन्छु’
कडा मिजासको छवि बनाएका प्रधानमन्त्री ओलीको अर्को चित्त बुझ्दो, शिष्ट र सन्तुलित जवाफ पनि आयो । त्यो थियो, कुनै पनि दीर्घकालीन महत्त्वका निर्णय गर्नुअघि उनको मनोदशका कस्तो हुँदोरहेछ भन्ने बारेको ।
यस प्रसङ्गमा प्रधानमन्त्रीको जवाफ थियो, ‘मैले काम गर्नुअघि एकपटक तपाईंहरूलाई सम्झनुपर्छ । प्रतिपक्षलाई सम्झनुपर्छ । संविधानसँग असन्तुष्ट पक्ष र विभिन्न शक्तिहरूलाई सम्झनुपर्छ । यी थुप्रै पक्षहरूसँग मैले सम्झौता गर्नुपर्ने हुन्छ । धेरै कुरामा सम्झौता गरेर अहिलेको सरकार अघि बढेको छ । यस्तै सन्तुलित ढंगले सफलतापूर्वक हामी अघि बढिरहेका छौं ।’
प्रधानमन्त्री ओलीले आफूलाई सर्वेसर्वा ठान्छन्, आफूलाई लागेको कुरा मात्र सही ठान्छन्, विरोध र आलोचनका स्वरलाई रुचाउँदैनन् भन्ने दाबीलाई उनले व्यक्त गरेको ‘काम गर्नुअघि तपाईंहरूलाई सम्झनुपर्छ’ भन्ने भनाइले खण्डित गरेको स्पष्ट हुन्छ । भनाइ, गराइ र व्यवहारमा कति तालमेल मिलेको छ वा भोलिका दिन कति तालमेल मिल्ला, त्यो फरक पाटो रह्यो तर बाहिर प्रचार गरिएजस्तो ‘ओलीमा मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोंच हाबी छ भन्ने दाबीलाई चाहिँ उनको मंगलवारको सम्झौता र सन्तुलन सम्बन्धी अभिव्यक्तिले गलत प्रमाणित गरिदिएको बुझ्न सकिन्छ ।
‘तपाईं हामी संयोगले बचेका हौं, जग्गा किन्दा पूर्जा हेर्ने हो’
सम्पादकहरूले जोडतोडले उठाएको अर्को प्रसङ्ग बालुवाटारस्थित ललिता निवास प्रकरणबारे थियो । सम्पादकहरूको दाबी थियो – ललिता निवासको जग्गा सेटिङ्गमै निजी बनाइएको हो । संलग्नहरूलाई सरकारले कारवाही गर्नुपर्छ ।
ललिता निवासबारे चासो, सरोकार र प्रश्नबारे प्रधानमन्त्री ओलीमा कुनै द्विविधा देखिएन । उनले सम्पादकका प्रश्न चाहिँ ध्यानपूर्वक सुने अनि उत्तर चाहिँ सहज रुपमा फर्काए ।
प्रधानमन्त्री ओलीको जवाफ थियो –
‘जग्गा किन्दा लालपूर्जा हेर्ने हो । मालपोतमा गएर चेकजाँच गर्ने हो । तपाईंहरूका पनि कहीँ न कहीँ घरजग्गा होलान् । तपाईंहरूले पनि लालपूर्जा हेरेरै जग्गा किन्नुभएको होला । मैले पनि लालपूर्जा हेरेर जग्गा किनेको हुँ । ललिता निवास प्रकरण बाहिर आएपछि म पो झसङ्ग भएँ । कतै मेरो निजी निवास (भक्तपूरको बालकोट) पनि यस्तै (ललिता निवास) जस्तै त परेन भनेर बुझ्न पठाएँ । संयोगले परेको रहेनछ, ठीकठाक रहेछ ।'
तपाईं हामीले पनि ललिता निवासको जग्गा संयोगले नकिनेका हौं । यसमा कुनै द्विविधा मान्नुपर्ने छैन । सरकार र मलाई यो प्रकरणमा जोडेर विवादमा तान्ने प्रयास भइरहेको छ । के ललिता निवासको जग्गा मेरो पालामा निजी बनाइएको हो र ? म सरकारमा छँदा निजी बनाइएको हो र ? मैले त छानबिन गर्न निर्देशन दिएको छु । प्रहरीको सीआईबीले छानबिन गरिसक्यो । अख्तियारले छानबिन गर्दैछ । छानबिन सकेर अदालतमा मुद्दा जाला । जो दोषी छन्, उनीहरूमाथि कारवाही हुन्छ । निर्दोषलाई अन्याय हुँदैन ।’
ललिता निवास प्रकरणबारे प्रधानमन्त्रीले विना कुनै व्यंग्य सिधा–सिधा जवाफ फर्काए । छानबिन गरिरहेका निकायलाई सरकारले दबाब र प्रभावमा नपारेको उल्लेख गरे ।
‘अमेरिका सुपर पावर हो, एमसीसी छिट्टै पास हुन्छ’
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाललाई दिन खोजेको सहायतालाई हेर्ने आफ्नो दृष्टिकोणमा पनि प्रधानमन्त्री ओली सिधा–सिधा प्रस्तुत भए । उनले विना कुनै हिच्किचाहट, घुमाउरो भाषा प्रयोग नगरिकन अमेरिकासँग भिडिरहन नसकिने र एमसीसी संसदबाट कुनै पनि हालतमा पारित हुने स्पष्ट पारे ।
‘अमेरिका सुपर पावर हो । सबैभन्दा धनी र बलियो देश हो भनेर जानिएको छ । उनीहरू तर्क र कानूनभन्दा पनि हामी सुपर पावर हौ भन्ने सवालमा अगाडि छन् । सुपर पावरका विश्वव्यापी रणनीति हुन्छन् । क्षेत्रीय रणनीति हुन सक्छन् । मूल कुरा हाम्रो सम्झौताले के भन्छ भनेर अध्ययन गरिनुपर्छ । हामीले हेर्ने भनेको हामीसँग भएको सम्झौता कस्तो छ भनेर हो । उसले दिने सहयोग सैनिक गतिविधिमा खर्च हुने होइन । विकासका काममा खर्च हुने हो । हामी सम्झौता गर्नुअघि पर्याप्त अध्ययन गर्दैनौं । सम्झौता अनुमोदन गर्ने बेला चाहिँ यसो र उसो भन्दै शंका उब्जाउँछौं । साथीहरूमा केही ‘कन्फ्यूजन’ देखिएको छ । त्यो ठूलो विवाद होइन । एमसीसी यसै अधिवेशनबाट शीघ्र पास हुन्छ । हुनुपर्छ ।’
अमेरिकालाई सुपर पावर र बलियो देश भन्दै उसले एमसीसीमार्फत दिन लागेको सहयोग लिने प्रधानमन्त्री ओलीले खुलस्त पारे । उनले अमेरिकालाई अरु थप नचिढाउने, सहयोग लिने, सहयोग स्वरुप आउने रकम खर्च गर्न नसके फिर्ता जान सक्ने संकेत गरे । प्रधानमन्त्री ओलीको यो भनाइले एमसीसी बारेका सम्पूर्ण अन्यौल, आशंका र तर्कलाई फिक्का तुल्याइदिएको छ । किनभने हाम्रोजस्तो संसदीय अभ्यासमा प्रधानमन्त्रीले चाहेपछि त्यो नहुने भन्ने कोरा कल्पना मात्र हो । एमसीसीलाई यही मेसोमा बुझ्नु आवश्यक हुन्छ ।
भैंसेपाटी बैठक र नबजोडीको मायापिर्तीको किस्सा
केही समय पहिले नेकपाका प्रभावशाली नेता वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा नेकपाकै शीर्ष नेताहरूको बैठक भएको विषयलाई प्रधानमन्त्रीले भित्रि मनले कसरी लिएका छन्, त्यो उनैले जानुन् तर सम्पादकसँगको भेटमा चाहिँ प्रधानमन्त्रीले त्यसलाई गम्भीर रुपमा नलिएको सन्देश दिन खोजे । त्यस्ता बैठक पार्टीमा चलिरहने उनले बताए ।
‘भर्खर लभमा परेका नवजोडीको जस्तो कुरा नगरौं न एउटाले अर्कोलाई अर्कै देख्दा शंका गरिहाल्ने । यस्ता बैठक चलिरहन्छन् तर के पक्का होे भने म छिट्टै किड्नी रिट्रान्सप्लान्ट गर्दैछु र अबको बाँकी ३ वर्ष मैले नै प्रधानमन्त्री चलाउँछु । थप सक्रियताका साथ काम गर्न सकौं भनेर नै मैले किड्नी रिट्रान्सप्लान्ट गर्न लागेको हुँ ।’
... र म क्षमाप्रार्थी छु
प्रधानमन्त्री ओलीले आफ्नो भनाइको अन्त्यमा सम्पादकहरूलाई एउटा अनुरोध गरे । भने, ‘मलाई तपाईंहरूले को–अपरेट गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु । मेरो कुरा मन नपरे मलाई गाली गरे हुन्छ तर देशको अहित हुने, थप अन्योल पैदा गर्ने काम कृपया नगरिदिनुहोला । तपाईंहरूका सुझावलाई गम्भीरताका साथ लिएको छु । मैले बोलेको कुराले तपाईंहरूलाई बिझाएको छ भने क्षमाप्रार्थी छु ।’
अरुका कुरा कम सुन्ने, आफ्नो एकोहोरो कुरा सुनाइरहने, आफूले देखेको, बुझेको र जानेको मात्र सही ठान्ने घमण्डी स्वभावका छन् ओली भनेर व्यापक प्रचार भइरहेका बेला सम्पादकसँगको कुराकानीको विट मार्दै गर्दा प्रधामन्त्रीले प्रयोग गरेको ‘मैले बोलेको कुराले तपाईंहरूलाई बिझाएको छ भने क्षमाप्रार्थी छु’ भन्ने वाक्यांशले धेरैलाई आश्चर्यमा पारेको हुनसक्छ । यसलाई कसले कसरी बुझ्ने, त्यो बुझाइमा भर पर्छ तर पंक्तिकारलाई चाहिँ प्रधानमन्त्री ओली विगतमा जे जस्तो रुपमा प्रस्तुत भएपनि उनले आगामी कार्यकाल सुझबुझपूर्ण ढंगले चलाउन खोजेको प्रतित हुन्छ । यसले के पनि संकेत गर्छ भने ओलीले अब पुरानो ढर्रामा होइन, नयाँ शैलीमा काम गर्न खोज्दैछन् । संयमता, शिष्टता र शालीनताको यात्रा प्रधानमन्त्रीले रोजेकै हुन् भने त्यो सकारात्मक पक्ष हो र त्यसका लागि अहिलेलाई यत्ति भनौं – त्यस्तो शैली व्यवहारमा प्रकट भइरहोस् ।