तपाईंले ताजा भनेर किनेको हरियो तरकारी ‘मन्द विष’ हुन सक्छ । आज बारीमा विष छर्किइन्छ, अनि भोलि त्यही तरकारी तपाईंको भान्सामा पाक्छ ।
हालै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालसहितको बजार अनुगमन टोलीले बजारभित्र रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परीक्षण गर्दा चितवनबाट आएको काँक्रोमा अत्यधिक विषादी भेटिएपछि ५०० किलो काँक्रो नष्ट गरिएको थियो ।
चितवनका कृषक मनिष बर्नवालले उत्पादन गरेको उक्त काँक्रोमा कार्बामेट समूहको विषादी १.७४ प्रतिशत र अर्गानोफस्फेट समूहको विषादी ४७.७१ प्रतिशत भेटिएको थियो । यसअघि जेठ २२ गते पनि मर्चवारी क्षेत्रबाट आएको तरकारीमा अत्यधिक विषादी फेला परेपछि नष्ट गरिएको थियो ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीका अनुसार यस्ता उत्पादन मानव उपभोगका लागि अयोग्य हुने भएकाले नष्ट गर्नुपर्ने अवस्था आउँछ ।
त्यसअघि वैशाख १९ गते मकवानपुरको राइन सब्जी पसलबाट बुटवल आएको काउलीको नमूना परीक्षण गर्दा ८२.६५ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएपछि त्यसलाई पनि नष्ट गरिएको थियो ।
जेठ २३ गते रुपन्देहीमा उत्पादन भएको काउलीमा समेत विषादीको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो ।
प्राविधिकहरूका अनुसार अर्गानोफस्फेट समूहको विषादी ४५ प्रतिशतभन्दा बढी भेटिएमा त्यस्तो तरकारी खान अयोग्य मानिन्छ ।
दूधमा पनि मिसावट
बुटवलको बजार अनुगमन टोलीले १२ वटा दुग्ध सप्लायर्समा गरेको छड्के अनुगमनमा १० वटामा ‘न्यूट्रिलाइजर’ मिसाइएको भेटिएको थियो । मानव स्वास्थ्यका लागि हानिकारक मानिने यो पदार्थ दूध लामो समयसम्म नफाटोस् भन्ने उद्देश्यले प्रयोग गरिन्छ ।
कृषि क्षेत्रमा विषादीको दुरुपयोग कति गम्भीर छ भन्ने तथ्य बुटवलमा दैनिकजसो हुने परीक्षणबाट स्पष्ट हुने सरोकारवालाहरू बताउँछन् । भारतबाट भित्रिने तरकारीको भन्सारमै विषादी परीक्षण गर्नुपर्ने बहस चलिरहेका बेला स्वदेशमै उत्पादित खाद्य वस्तुमा भइरहेको लापरवाहीले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिएको देखिन्छ ।
प्रतिबन्धित विषादीको प्रयोग अझै जारी
हरियो तरकारीमा लाग्ने रोग तथा किराको नियन्त्रणका लागि कृषकले जथाभावी विषादी प्रयोग गरिरहेको पाइएको छ । विशेषगरी शहरी क्षेत्रका उपभोक्ता यसको प्रत्यक्ष जोखिममा परिरहेका छन् ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख अर्यालले किसानलाई विषादी प्रयोगसम्बन्धी तालिम र सचेतना कार्यक्रम सञ्चालन गरिए पनि व्यवहारमा त्यसको प्रभाव अपेक्षित रूपमा नदेखिएको बताइन् । उत्पादन बढाउने उद्देश्यले रासायनिक मल र विषादीको अत्यधिक प्रयोग हुँदा माटोको उर्वराशक्ति घट्ने तथा उत्पादन प्रणालीमै नकारात्मक असर पर्ने भएकाले पालिकाले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ ।
काउली, गोलभेडा, खुर्सानी, काँक्रो, बोडी, लौकालगायत मौसमी तथा बेमौसमी तरकारीमा रोग–किरा नियन्त्रण र उत्पादन वृद्धि गर्न नियमित विषादी प्रयोग हुने गरेको छ । तर, विषादी छरेपछि अनिवार्य रूपमा पर्खिनुपर्ने अवधि पूरा नगरी तरकारी बजारमा ल्याइने प्रवृत्तिले जोखिम झन् बढाएको विज्ञहरूको भनाइ छ ।
नेपालमा बारीमै तरकारी परीक्षण गरेर मात्र बजार पठाउने प्रणाली विकास भइसकेको छैन ।
किसान र व्यापारीले विषादीको प्रयोग तथा प्रतीक्षा अवधिबारे पर्याप्त जानकारी नपाउँदा उपभोक्ता स्वास्थ्य थप जोखिममा परेको सरोकारवालाहरूको भनाइ छ ।
अनुगमन कमजोर,किसानमा जानकारीको अभाव
रुपन्देही, कपिलवस्तु, दाङ र चितवनका अधिकांश किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन् ।
तर, कुन विषादी कसरी बिक्री भइरहेको छ भन्ने प्रभावकारी अनुगमन हुने गरेको छैन । विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि धेरै किसानमा पर्याप्त जानकारी नभएको देखिन्छ ।
बालीमा समस्या देखिएपछि अधिकांश किसान एग्रोभेटको सल्लाहअनुसार विषादी प्रयोग गर्छन् । कतिपय अवस्थामा सल्लाहले काम नगरेपछि आफूखुसी थप विषादी प्रयोग गर्ने प्रवृत्ति पनि रहँदै आएको छ ।
स्वास्थ्यमा तत्काल र दीर्घकालीन असर
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा थापाका अनुसार तरकारी तथा अन्य खाद्य बालीमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा तत्काल र दीर्घकालीन दुवै प्रकारका असर पुर्याउन सक्छ ।
तत्काल देखिने असरमा टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने, मूर्च्छा पर्ने, अत्यधिक थकान महसुस हुने, छालामा फोका आउने, आँखा रातो हुने तथा धमिलो देखिने समस्या पर्छन् ।
दीर्घकालीन रूपमा क्यान्सर, ट्युमर, श्वासप्रश्वाससम्बन्धी रोग, शारीरिक विकासमा असर, पक्षघात, वंशानुगत परिवर्तन, प्रजनन क्षमतामा कमी, बाँझोपन तथा मानसिक असन्तुलनजस्ता समस्या देखिन सक्ने उनले बताइन् ।
‘प्रतिबन्धित विषादी अझै प्रयोग भइरहेको छ’
भेटेरिनेरियन हुमकान्त काफ्लेका अनुसार तरकारीमा अहिले पनि अर्गानोफस्फेट र कार्बामेट समूहका विषादी प्रयोग भइरहेको देखिन्छ । उनका अनुसार यी दुवै समूहका विषादीलाई सरकारले चार वर्षअघि नै प्रतिबन्ध लगाएको थियो ।
'खुला सीमाका कारण अझै पनि लुकिछिपी यस्ता विषादी बिक्री र प्रयोग भइरहेको देखिन्छ,' काफ्ले भन्छन् ।
उनका अनुसार सरकारले सिफारिस गरेका विषादी प्रयोग गर्नु मात्रै समस्या होइन, विषादी प्रयोगपछि अनिवार्य रूपमा पर्खिनुपर्ने समयको पालना नगर्नु झन् ठूलो समस्या हो ।
'बजारमा राम्रो मूल्य पाइने अवस्था देखिएपछि किसानले आज विषादी छरेको तरकारी भोलि वा पर्सिपल्टै टिपेर बजार पठाइरहेका छन् । यो निकै डरलाग्दो अवस्था हो,' उनले भने, 'किसानलाई प्रतीक्षा अवधिबारे व्यापक सचेतना आवश्यक छ ।'
काफ्लेले निम, बकाइनो, गहत, साबुनपानी तथा बोझोजस्ता जैविक विकल्प प्रयोग गरेर पनि कीरा नियन्त्रण गर्न सकिने भएकाले त्यसतर्फ किसानलाई प्रोत्साहित गर्नुपर्ने बताए ।
कारबाहीको माग
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले विषादी बढी भएको तरकारी नष्ट गरेर मात्र नपुग्ने बताए । उनका अनुसार प्रतीक्षा अवधि पूरा नगरी बजारमा उत्पादन पठाउने किसान तथा सम्बन्धित पक्षलाई कानूनअनुसार कारबाही गर्न आवश्यक छ ।
'बजारमा उपलब्ध तरकारीप्रति उपभोक्ताको विश्वास घट्दै गएको छ,' उनले भने, 'बुटवलमा दैनिक परीक्षण गर्दा यस्तो अवस्था देखिन्छ भने परीक्षण प्रयोगशाला नै नभएका स्थानमा स्थिति कस्तो होला भन्ने गम्भीर प्रश्न उठेको छ ।'
उनले उपभोक्तालाई तरकारी प्रयोगअघि नुनपानीमा भिजाउने, राम्ररी धुने र आवश्यक परे फ्रिजमा राखेर प्रयोग गर्ने सुझाव दिए ।
नियन्त्रणका लागि प्रभावकारी योजना छैन
स्थानीय तहका जनप्रतिनिधिहरूले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए पनि बजारमा खान अयोग्य खाद्य वस्तु प्रवेश रोक्न प्रभावकारी योजना अघि बढ्न सकेको देखिँदैन ।
विषादीयुक्त तरकारी तथा फलफूलको बिक्री–वितरण नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वित र कडा कदम आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।
विज्ञहरूका अनुसार विषादीको दुरुपयोग अब केवल कृषि क्षेत्रको समस्या मात्र नभई जनस्वास्थ्य, वातावरण र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चुनौतीका रूपमा देखिन थालेको छ ।
हेर्नुहोस्, भिडियो: (भिडियो प्रकाश ओली)