
काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा शनिबार ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।
साथै, दुर्घटनामा घाइते भएका अन्य १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य-तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।