
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सुर्तीजन्य पदार्थसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ द्वारा काठमाडौंबाट दोहा हुँदै पाकिस्तान जान लागेका राहदानी नम्बर बीई ०१५३५५५ वाहक पाकिस्तानी नागरिक ६३ वर्षीय शाहिद महमुद रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
उनका अनुसार निज महमुदले लिई आएको लगेजहरूलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा निजको लगेजहरूबाट उक्त सामग्री फेला परेको हो ।
निजको साथबाट रजनीगन्धा एक लाख २० हजार, पान पराग २२ हजार ७५०, कथा नामक डब्बा २८ हजार ३५० र १०० एमटीएस लेखिएको पोका तौल २५ केजीको ३० हजार गरी कुल जम्मा रकम दुई लाख एक हजार १०० बराबरको सुर्तीजन्य पदार्थहरू तथा अन्य सामग्री लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कानूनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रवक्ता सिलवालले बताए।