
शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेलले शपथ गराएका हुन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालचन्द्र शाहले आजै त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए ।
विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरुमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् ।
यसरी उपकुलपतिको पद तथा गोपनीयताको शपथ लिनेहरूमा क्रमशः त्रिभुवन विश्वविद्यालयमा प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल छन् ।
त्यसै गरी, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टाले उपकुलपति पदको शपथ लिएका छन् ।
शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमालाई कायम राख्दै निर्भीकता र इमानदारिता साथ काम गर्ने प्रतिबद्धता जनाए ।
यो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो ।