
फिफा विश्वकप २०२६ अन्तर्गत इक्वेडरविरुद्धको खेलमा ऐतिहासिक जित निकाल्दै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेपछि मेक्सिको सिटीमा भएको व्यापक खुसीयाली उत्सव शोकमा परिणत भएको छ। मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानीको मुख्य क्षेत्रमा भएको अत्यधिक भीड र उत्सवका क्रममा चार जनाको मृत्यु भएको हो ।
मेक्सिको सिटीको स्वास्थ्य सचिवालयले सामाजिक सञ्जाल 'एक्स'मार्फत सार्वजनिक गरेको जानकारी अनुसार बुधबार राति हजारौँको सङ्ख्यामा समर्थकहरू जम्मा भएको प्रसिद्ध 'एन्जेल अफ इन्डिपेन्डेन्स' स्मारक नजिकैका सडकहरूमा दुई महिला र एक पुरुष अचेत अवस्थामा फेला परेका थिए । ज्यान गुमाएका ती मृतकहरू ४८, ४४ र १९ वर्षका रहेका छन् । अधिकारीहरूले उनीहरूको मृत्युको विस्तृत परिस्थितिबारे थप विवरण भने सार्वजनिक गरेका छैनन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा मेक्सिको सिटीकी स्वास्थ्य सचिव नादिन ग्यासम्यानले अर्का एक ३० वर्षीय पुरुषको पनि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिइन् । कम्पन र पेटबाट आन्तरिक रक्तस्राव भएपछि आपत्कालीन स्वास्थ्य टोलीले उनको उद्धार गरेको थियो, तर अस्पताल पुर्याएलगत्तै हृदयघातका कारण उनको मृत्यु भयो ।
मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले सामाजिक सञ्जालमार्फत आपत्कालीन टोलीहरूले अचेत मानिसहरूको सूचना पाउने बित्तिकै तत्कालै रेस्पोन्स गरे पनि उनीहरूलाई बचाउन नसकिएको बताइन्। उनले सर्वसाधारणलाई जिम्मेवार, सचेत र सहानुभूतिपूर्वक विजय उत्सव मनाउन आग्रह गरेकी छन्।
बुधबार राति मेक्सिकोको ऐतिहासिक जितपछि मुख्य स्क्वायर 'जोकालो'देखि चापुल्तेपेक पार्कलाई जोड्ने ५ किलोमिटर लामो 'पासेओ डे ला रेफर्मा' सडक खण्डमा हजारौँ मानिसहरू उत्सव मनाउन सडकमा ओर्लिएका थिए र 'एल एन्जेल' स्मारक वरपरको आकाश पटाकाको उज्यालोले भरिएको थियो।
मेयर ब्रुगाडाले सार्वजनिक गरेको एक भिडियो सन्देशअनुसार उक्त रात सडकमा करिब १४ लाख मानिसहरू खुसीयाली मनाउन निस्किएका थिए। भीड अत्यधिक बढेर नियन्त्रण बाहिर जान थालेपछि उनले सर्वसाधारणलाई सहरको मुख्य केन्द्रतर्फ नआउन र भीडभाड कम गर्न अपिल गरेकी थिइन्। सडकमा मानिसहरूको खुट्टा हाल्ने ठाउँ समेत थिएन। युवाहरूले एकअर्कालाई मदिराका बोतलहरू साटासाट गर्दै उत्सव मनाइरहेका थिए भने लाखौँको भीड सहरको केन्द्रतर्फ अघि बढ्न खोज्दा ठुलो ठेलमठेलको स्थिति सिर्जना भएको थियो, जसका कारण धेरै मानिसहरू बीचबाटै फर्कन बाध्य भएका थिए ।