
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
प्रदेश सरकार गठनको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले मंगलबार प्रचण्ड मधेस जानुअघि करिब दुई घण्टा दुई नेताबीच छलफल भएको पुष्टि गरे ।
प्रदेशमा सरकार गठनबारे दुई नेताबीच सकारात्मक छलफल भएको उनले बताए । तर हालसम्म एमालेसँग औपचारिक सहमति नभएको भइनसकेको उनको भनाइ छ ।
००००
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे ।
तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए ।
००००
‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार बुधबारदेखि लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा ४२० वाट ४७० पुगेको छ । सानो अण्डा ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट ५० बढेको हो ।
००००
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ।
नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।
००००
सर्वोच्च अदालतले न्यायपालिकामा सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थापना गरेको ‘न्यायिक सुशासन केन्द्र’मा सञ्चालनको पहिलो महिनामै १८६ वटा गुनासा दर्ता भएका छन् ।
तीमध्ये १०६ वटा अर्थात् करिब ५७ प्रतिशत गुनासा प्रारम्भिक चरणमै फर्छ्योट भएको सर्वोच्च अदालतले जनाएको छ ।
००००
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।
मंगलबार एक सन्देश जारी गर्दै देउवाले प्रतिशोध र निषेधको राजनीति गर्न नहुने बताएका छन् । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने उल्लेख गर्दै देउवाले आफू नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्ने बताएका छन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । आयोगले मंगलबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अधिकारीले एउटा ठेक्कापट्टा सहज गरिदिएबापत निर्माण व्यवसायीबाट १ करोड ७१ लाख रूपैयाँ घूस लिएर रकम लुकाउन सम्पत्ति शुद्धीकरण गरेको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
००००
सर्वोच्च अदालतले संघीय शासन प्रणालीमा प्रदेश सरकारलाई आफ्नो प्रशासनिक संगठन र पदको तह वर्गीकरण गर्ने स्वायत्तता भए तापनि स्वास्थ्य जस्तो विशिष्टिकृत सेवामा संघीय कानूनभन्दा अत्यधिक भिन्न र सङ्कुचित हुने गरी उमेरको हद तोक्न नमिल्ने व्याख्या गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतका आधारमा गरेको फैसलामा प्रदेशहरूलाई आफ्नो सांगठनिक आवश्यकता अनुसार पदको तह निर्धारण गर्ने अधिकार भए पनि नागरिकको प्रतिस्पर्धाको समान अवसरलाई कुण्ठित गर्ने गरी अत्यधिक उमेर हद घटाउने अधिकार नभएको व्याख्या गरिएको छ ।
००००
पछिल्लो समय शेयर बजारप्रति प्रधानमन्त्री बालेन्द्र शाह आफैँले सक्रियता देखाउन थालेका छन् । शेयर बजार करिब ८ महिनायताकै न्यून बिन्दुमा झरेपछि प्रधानमन्त्री बालेन्द्र शाह आफैँले त्यसमा सक्रियता देखाएका हुन् ।
उनले शेयर बजारमा भइरहेको तीव्र उतारचढावप्रति चासो देखाउँदै लगानीकर्ताको मनोबल बढाउन र समस्या समाधान गर्न पुँजी बजार र धितोपत्र लगानीसँग सम्बन्धित प्रमुख सरोकारवालासँग भेटवार्ता समेत गरेका छन् ।
००००
कीर्तिपुरमा मंगलबार बिहान आगलागी भएको कारमा भेटिएको शव काठमाडौंका सूर्यचन्द्र श्रेष्ठको रहेको पाइएको छ ।
कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटस्थित चाँदनीचोकमा कारमा आगलागी हुँदा भेटिएको शव काठमाडौं महानगरपालिका-२६ क्षेत्रपाटीका श्रेष्ठको रहेको सनाखत भएको प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए ।
००००
अब बजारबाट सामान वा सेवा खरिद गर्दा बिल लिने बानीले उपभोक्तालाई लाखौं रुपैयाँ जिताउने अवसर पनि दिने भएको छ। आन्तरिक राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले बिल लिने उपभोक्तालाई नगद उपहार दिने नयाँ योजना सार्वजनिक गरेको हो।
अर्थ मन्त्रालयले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३' जारी गर्दै वस्तु तथा सेवा खरिदपछि बिल लिने उपभोक्तालाई नियमित लक्की ड्रमार्फत नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ। यसले बिल लिने संस्कृतिको विकास हुनुका साथै वास्तविक कारोबार अभिलेखीकरण गर्न पनि सहयोग पुग्ने सरकारको विश्वास छ ।
००००
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ यही साउन १२ र १३ गते हुने भएको छ ।
संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।
००००
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
'निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो । यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,' उनले लेखेका छन् ।
००००
युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी ठगीका ४० हजार फाइल खोल्न शुरू गरिएको बताएका छन् । ठगी गर्ने व्यक्तिलाई नेपालमा छुट नदिने उनले बताए ।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले २०५७ सालदेखि थन्किएर बसेका फाइल खोल्न थालिएको बताएका हुन् । ‘२०५७ सालदेखिको उजुरीको फाइल थन्केर बसेको थियो, कसैले त्यो फाइल खोल्न चासो दिएका थिएनन्, अहिले धुलो टकटक्याउने काम शुरू भएको छ,’ मन्त्री यादवले भने, ‘सबै फाइलको अनुसन्धान गरेर न्याय दिन्छौं ।’