फुटबल र ब्राजिल- यी दुई शब्द यस्ता हुन्, जुन एउटा बिना अर्को अपुरो लाग्छ । जब-जब विश्वकपको सुगन्ध आउँछ, तब-तब संसारको आँखा पहेँलो जर्सीभित्रको जादुमयी 'साम्बा' फुटबलमा रोकिन्छ । तर, के यो ब्राजिलियन जादु यसपटक इतिहास दोहोर्याउन तयार छ ?
सन् १९३० मा फिफा विश्वकपको पहिलो संस्करण आयोजना भएयता, ब्राजिल विश्वकै एकमात्र यस्तो देश हो जसले अहिलेसम्मका सबै संस्करणमा आफ्नो उपस्थिति दर्ता गराएको छ ।
आगामी २०२६ को विश्वकपमा 'सेलेसाओ' अर्थात् ब्राजिलियन टोली आफ्नो २३औँ सहभागिता जनाउँदै यो रोचक कीर्तिमानलाई नयाँ उचाइ दिँदैछ ।
पाँच पटकको कीर्तिमानी च्याम्पियन ब्राजिल यतिबेला आफ्नो छैटौँ उपाधिको खोजीमा छ । सन् २००२ मा विश्वकप जितेयता ब्राजिलियन टोलीले उपाधिको लामो खडेरी झेल्दै आइरहेको छ ।
पहिलो उपाधिका लागि २८ वर्ष संघर्ष गरेको ब्राजिलले सन् १९५८ मा स्वीडेनलाई ५–२ ले हराएर ट्रफी चुमेको थियो । त्यसपछि १९६२ मा चेकोस्लोभाकियालाई ३–१ ले र १९७० मा इटालीलाई ४–१ ले पन्छाउँदै दोस्रो र तेस्रो उपाधि जित्यो ।
चौथो उपाधि सन् १९९४ मा अमेरिकी भूमिमा इटालीलाई पेनाल्टी सुटआउटमा हराएर आयो भने, पाँचौँ उपाधि सन् २००२ मा एसियाली आकाशमुनि जर्मनीलाई २–० ले हराउँदै रोनाल्डोको कप्तानी र नायकत्वमा हासिल भएको थियो । त्यसयता, ब्राजिल विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।
तर, इतिहासको पाना पल्टाउँदा एउटा अद्भूत संयोग देखिन्छ । सन् १९७० को उपाधिपछि ब्राजिलले ठिक २४ वर्ष ट्रफी छुन सकेको थिएन र २४ वर्षपछि सन् १९९४ मा अमेरिकामै च्याम्पियन बनेको थियो ।
संयोग हेर्नुस्, सन् २००२ को उपाधिपछि फेरि ठिक २४ वर्ष पूरा भइसकेको छ र यसपटक २०२६ को विश्वकप पनि उत्तर अमेरिकी राष्ट्रहरू— क्यानडा, मेक्सिको र अमेरिकामै आयोजना हुँदैछ । के इतिहासको यो सुखद पुनरावृत्ति यसपटक फेरि होला ? समर्थकहरू यही पर्खाइमा छन् ।
इतिहासकै कठिन मोड र छनोट चरणको सास्ती
विगतको इतिहास जति स्वर्णिम छ, वर्तमानको बाटो उत्तिकै चुनौतीपूर्ण छ ।
सन् २०२२ को विश्वकपमा उच्च वरीयताका साथ प्रवेश गरेको ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिनु धेरैका लागि आश्चर्यको विषय थियो । फिफा वरीयताक्रम शुरू भएयता पहिलोपटक ब्राजिल इतिहासकै खराब अर्थात् छौटौँ स्थानमा झरेर विश्वकप खेल्दैछ ।
यसपटकको छनोट चरणमा ब्राजिलको यात्रा निकै कष्टकर रह्यो । दक्षिण अमेरिकी क्षेत्रका १० टोलीमध्ये ६ टोली सिधै विश्वकपमा पुग्ने प्रावधान थियो, जहाँ ब्राजिल बल्लतल्ल पाँचौँ स्थानमा रहँदै छनोट हुन सफल भयो । १८ खेल खेल्दा ब्राजिलले केवल ८ खेल मात्र जित्न सक्यो, ४ खेल बराबरीमा रोकियो भने ६ वटा खेलमा लज्जास्पद हार ब्यहोर्नुपर्यो ।
पछिल्लो २० वर्षमा जम्मा ५ पटक मात्र छनोट खेल हारेको टोलीले एकै संस्करणमा ६ खेल हार्नु चिन्ताको विषय हो । ब्राजिलले यस क्रममा २४ गोल गर्दा आफ्नो पोस्टमा १७ गोल खायो र कोलम्बिया, उरुग्वे तथा पाराग्वेसँगै २८–२८ अंक जोड्दै विश्वकपको टिकट काट्यो, जबकि अर्जेन्टिना ३८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
'डन कार्लो'को रणनीति र स्टारहरूको कम्ब्याक
यो कठिन मोडबाट टोलीलाई उकास्न ब्राजिलले यसपटक एउटा ऐतिहासिक कदम चालेको छ । टोलीको कमान्ड अब विश्व फुटबलका सबैभन्दा सफल क्लब प्रशिक्षक, इटालीका कार्लो एन्सेलोट्टीको हातमा छ । सन् २०२५ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट ब्राजिल बसाइँ सरेका एन्सेलोट्टी, ब्राजिलको राष्ट्रिय टोली सम्हाल्ने इतिहासकै पहिलो विदेशी प्रशिक्षक हुन् ।
यसअघि सन् १९९२ देखि १९९५ सम्म इटालीको सहायक प्रशिक्षक रहेका 'डन कार्लो' ले मुख्य प्रशिक्षकका रूपमा पहिलो पटक कुनै देशको राष्ट्रिय टोली सम्हाल्दैछन् ।
एन्सेलोट्टीले खेलाडीको शारीरिक फिटनेस र प्रतिरोधात्मक क्षमतालाई मुख्य प्राथमिकता दिएका छन् । हालैको मैत्रीपूर्ण खेलमा ४–२–४ को अत्यधिक आक्रामक रणनीति फ्लप भएपछि उनले अब टोलीलाई ४–३–३ वा ४–२–३–१ को सन्तुलित रणनीतिमा उतार्ने संकेत गरेका छन् ।
यसपटक ब्राजिलियन टोलीमा सबैभन्दा ठूलो चर्चा ३४ वर्षीय स्टार नेमार जुनियरको 'कमब्याक' को छ । चोटका कारण लामो समय मैदान बाहिर रहेका नेमारको अनुभवमाथि एन्सेलोट्टीले ठूलो भरोसा राखेका छन्, जुन टोलीका लागि 'एक्स–फ्याक्टर' बन्न सक्छ । नेमारले पहिलो खेल गुमाउने नै भैसकेका छन् ।
नेमारसँगै रियल म्याड्रिडका विंगर भिनिसियस जुनियर (जसमाथि क्लबको लय राष्ट्रिय टोलीमा देखाउने दबाब छ), राफिन्हा, मार्किन्हस, ग्याब्रियल मार्टिनेली र ग्याब्रियल म्यागालहिस जस्ता स्टारहरूले सजिएको यो टोलीलाई हालसम्मकै शक्तिशाली टोलीमध्ये एक मानिएको छ ।
मिडफिल्डमा ३४ वर्षीय अनुभवी कासेमिरो र चोटग्रस्त खेलाडीको स्थानमा आएका एडरसनले टोलीलाई थप सन्तुलन दिने प्रयास गरेका छन् ।
स्वर्णिम यादहरू,पीडादायी घाउ र २०२६ को चुनौती
ब्राजिलको इतिहासमा पेले, जर्जिन्हो र रिभेलिनो सम्मिलित सन् १९७० को टोलीलाई सर्वकालीन महान् टोली मानिन्छ, जसले 'जुल्स रिमेट' ट्रफी सधैँका लागि घर लग्यो । तर, यो इतिहासमा सन् १९५० को घरेलु मैदानको हार— 'माराकानाजो' (उरुग्वेसँगको हार) र सन् २०१४ को आफ्नै भूमिमा जर्मनीसँग बेहोरेको ७–१ को लज्जास्पद हार जस्ता कहिल्यै निको नहुने घाउहरू पनि छन् ।
अबको परीक्षा सन् २०२६ को विश्वकप हो, जहाँ ब्राजिल समूह 'सी' मा परेको छ । यो समूहमा अप्रत्याशित नतिजा निकाल्न खप्पिस मोरक्को, हाइटी र स्कटल्यान्ड छन् ।
ब्राजिलले आफ्नो पहिलो खेल जुन १३ मा मोरक्कोसँग खेल्नेछ, त्यसपछि जुन १९ मा हाइटी र जुन २४ मा स्कटल्यान्डको सामना गर्नेछ ।
एन्सेलोट्टीको नयाँ नेतृत्व र सम्भवतः नेमारको यो अन्तिम विश्वकप यात्राले यस पटकको संस्करणलाई निकै रोमाञ्चक बनाउने पक्का छ । के साम्बा ब्वाइजले उत्तर अमेरिकामा छैटौँ पटक उपाधि चुमेर इतिहास रच्ला ? फुटबल जगत निकै उत्सुकताका साथ पर्खिरहेको छ ।
ब्राजिलको कुरा गर्दै गर्दा केही यस्ता रोचक कुराहरूलाई छुटाउन मिल्दैन: