
नेपाली कांग्रेसका सभापति गगन थापाले बजेटमा मध्यमवर्गलाई राहत दिएको भनिए पनि उनीहरू ठगिएको दाबी गरेका छन् ।
आइतबार कांग्रेस पार्टी कार्यालयमा भएको सुवर्ण शमशेर आर्थिक बहस कार्यक्रममा सभापति थापाले २० हजार छुट दिएर ३४ हजार असुल्ने काम भएको बताएका हुन् ।
'बजेटमा राहतको नाममा मध्यमवर्गलाई ठग्ने काम भएको छ । अगाडिबाट गोजीमा हालेको देख्यौं, पछाडिबाट सुटुक्क निकालेको देखेनौं,' थापाले भने ।
बोर्डिङ स्कुलमा पढाउने र निजी अस्पतालमा उपचार गर्नु बाध्यता भएको अवस्थामा समता शुल्कका नाममा मध्यमवर्गलाई ठग्ने काम भएको उनले बताए । 'अगाडिको खल्तीबाट २० हजार छुट दिएर पछाडिबाट ३२ देखि ३४ हजार असुल्ने काम भएको सांसदहरूले बुझेनन्,' उनले भने ।
सभापति थापाले भोलिको दिनमा कांग्रेस सरकारमा आउँदा पनि रास्वपा सरकारले खराब मात्र भएको थियो भनेर नभन्ने बताए ।