
युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीचको प्रस्तावित समझदारी पत्रलाई लिएर दुवै देशबीच विरोधाभासपूर्ण प्रतिक्रियाहरू आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार नै सम्झौतामा हस्ताक्षर हुने र रणनीतिक महत्त्वको 'हर्मुज जलसन्धि' तुरुन्तै सबैका लागि खुल्ने दाबी गरेका छन्। तर, इरानले भने हालसम्म कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानभित्रका कट्टरपन्थी समूहहरूले यस सम्झौताको कडा विरोध गरिरहेका छन्। उनीहरूले सम्झौता गरेमा इरान अमेरिकी उपनिवेश बन्ने चेतावनी दिएका छन्। वार्तालाई सफल बनाउन कतारी मध्यस्थकर्ताहरू आइतबार बिहानै तेहरान पुगेका छन्।
यसैबीच, इजरायलले बेरुतमा हिजबुल्लाहका ठेगानाहरूमा हवाई आक्रमण गरेपछि यो कूटनीतिक प्रयास थप जोखिममा परेको छ। इजरायलले उक्त आक्रमणबारे अमेरिकालाई पहिले नै जानकारी दिएको थियो।
राष्ट्रपति ट्रम्पले आफ्नो ८० औं जन्मदिनको अवसरमा यो ऐतिहासिक सम्झौता हुने अपेक्षा राखे पनि इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' ले ट्रम्पको समयतालिकालाई अस्वीकार गरिदिएको छ।
यता इरानका चारवटा बैंकमा साइबर आक्रमण भएको र इन्टरनेटमा प्रतिबन्ध जारी रहेको खबरहरू पनि सार्वजनिक भएका छन्। सम्झौताको भविष्य अहिले पनि अनिश्चित बनेको सीएनएनले समाचारमा उल्लेख गरेको छ ।