११ साउन २०८३, सोमबार
इरान-अमेरिका युद्ध

हर्मुज जलडमरू बन्द गरेको इरानी दाबी अमेरिकाद्वारा अस्वीकार, स्विट्जरल्याण्डमा वार्ता शुरू हुँदै

असार ७, २०८३
काठमाडौं
हर्मुज जलडमरू बन्द गरेको इरानी दाबी अमेरिकाद्वारा अस्वीकार, स्विट्जरल्याण्डमा वार्ता शुरू हुँदै

अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा आइतबारदेखि शान्ति वार्ता शुरू हुने तयारी भइरहेका बेला हर्मुज जलडमररु बन्द गरिएको इरानी दाबीलाई अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल वार्ताका लागि स्विट्जरल्याण्ड पुगेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्तामा सहभागी हुन वासिङ्टनबाट प्रस्थान गरेका छन् । 

पाकिस्तानले मध्यस्थता गरेको अन्तरिम सम्झौताअनुसार दुवै देशले ६० दिनको युद्धविराम स्वीकार गर्दै वार्तामा बस्न सहमति जनाएका छन् ।

तर, वार्ताअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले शनिबार हर्मुज जलडमरूमध्य बन्द गरिएको घोषणा गरेको थियो । 

आईआरजीसीले लेबनानमा इजरायलले अमेरिकी प्रतिबद्धता उल्लङ्घन गर्दै आक्रमण गरेको आरोप लगाउँदै उक्त क्षेत्र नजिकिने जहाजहरू जोखिममा पर्न सक्ने चेतावनी दिएको थियो ।

यद्यपि अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले शनिबार मात्र ५५ वटा व्यापारिक जहाज हर्मुज जलडमरू पार गरेको र ती जहाजमार्फत १ करोड ७० लाख ब्यारेलभन्दा बढी तेल विश्व बजारतर्फ ढुवानी भएको जनाएको छ। सेन्टकमले व्यावसायिक जहाजहरूको आवागमन निरन्तर सुरक्षित रहने पनि बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम अवधिभर र त्यसपछि पनि हर्मुज मार्ग प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बताएका छन् । उनले शान्ति वार्ता असफल भए अमेरिकाले मध्यपूर्वी मुलुकहरूको ‘संरक्षक’को भूमिकाबापत शुल्क लगाउन सक्ने सम्भावना पनि खुला राखेका छन् ।

इरानी सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईका सल्लाहकार मोहम्मद मोख्बेरले अमेरिकाले अन्तरिम सम्झौताको पहिलो सर्त कार्यान्वयन नगरेको आरोप लगाएका छन् । उनका अनुसार सबै मोर्चामा युद्धविराम लागू नभएसम्म मध्यपूर्वबाट हुने ऊर्जा आपूर्ति प्रभावित रहनेछ ।

वार्ताका लागि पुगेको इरानी टोलीको नेतृत्व प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले गरेका छन् । टोलीमा विदेशमन्त्री अब्बास अराघचीसहित सुरक्षा, केन्द्रीय बैंक र तेल क्षेत्रका उच्च अधिकारीहरू सहभागी छन् । अमेरिकी टोलीमा उपराष्ट्रपति भान्ससँगै विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनर सहभागी छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले विगतमा भएका सहमति कार्यान्वयन नभएको उल्लेख गर्दै यसपटक इरानले आफ्ना माग पूरा गराउन जोड दिने बताएका छन् । उपराष्ट्रपति भान्सले भने युद्धविराम कायम रहनेमा आफू विश्वस्त रहेको र हर्मुज जलडमरू वास्तवमै बन्द भएको कुनै प्रमाण नदेखिएको बताएका छन् ।

वार्ताको अर्को प्रमुख विषय लेबनानमा लागू गरिएको युद्धविराम पनि रहेको छ । तर युद्धविराम लागू भएको केही घण्टामै शनिबार इजरायली आक्रमणमा २० जनाको मृत्यु भएको लेबनानी नागरिक सुरक्षा निकायले जनाएको छ । 

इजरायलले हिजबुल्लाहको आक्रमणको जवाफस्वरूप कारबाही गरेको बताएको छ भने हिजबुल्लाहले इजरायललाई लेबनानमा स्वतन्त्र रूपमा गतिविधि गर्न नदिने चेतावनी दिएको छ ।

इजरायलले आफू अमेरिका–इरान सम्झौताको पक्षकार नभएको र कब्जामा लिएको लेबनानी भूभाग नछाड्ने स्पष्ट पारेको छ । इजरायली सञ्चारमाध्यम च्यानल १२ का अनुसार प्रधानमन्त्री र रक्षा मन्त्रीले लेबनानमा गोलीबारी रोक्न सेनालाई निर्देशन दिएका छन्, तर कब्जा गरिएका क्षेत्रबाट फिर्ता नहुने नीति कायम राखिएको छ ।

यसबीच, हिब्रु विश्वविद्यालयले गरेको एक सर्वेक्षणअनुसार ९२ प्रतिशत इजरायलीले हालैको अमेरिका–इजरायल सैन्य अभियानबाट इरानले इजरायलभन्दा बढी लाभ उठाएको विश्वास गरेका छन् । सर्वेक्षणमा सहभागी झण्डै ९० प्रतिशतले युद्धका लक्ष्य पूरा नभएको बताएका छन् भने ७० प्रतिशतभन्दा बढीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दाबी गरेजस्तो ठूलो उपलब्धि हासिल भएको विश्वास नगरेको जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणमा ४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । इजरायली अधिकारीहरूका अनुसार हिजबुल्लाहसँगको द्वन्द्वमा कम्तीमा ३२ सैनिक र चार सर्वसाधारणको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्