
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि स्थापना भएको कांग्रेस पार्टीभित्रै निरंकुशता शुरु भएको बताएका छन्।
कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गर्दै २०३३ सालमा बिपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आज झन् बढेको बताए। कांग्रेस अब बिपीको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।
कोइरालाले भने, “नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन नेपालका सबै शक्तिबीच सहकार्य र एकता जरुरी छ।”
उनले महामन्त्री गगन थापासँग भएको कुराकानीमा आफूले राखेका पाँचवटा प्रस्ताव स्वीकार गरिएको दाबी गर्दै प्रश्न गरे, “सहमति गर्न अहिले के कुराले रोक्यो ?”
गगन थापा आफ्नो निवासमा आएर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफूले राखेका पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको पनि कोइरालाले बताए।
सहमतिबिना कांग्रेस एक कदम पनि अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले भने, “गिरिजाप्रसाद कोइरालाले भन्नुभएको सहमति, सहकार्य र एकताबाटै हामी हिँड्नुपर्छ। त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट सुरु गर्नुपर्छ।”
कोइरालाले आफू कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे।