०९ असार २०८३, मंगलबार

अल्लाको झोलामा ४० अर्बको बजेट !

असार १, २०८३
विराटनगर
अल्लाको झोलामा ४० अर्बको बजेट !

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आज (सोमबार) आफ्नो वार्षिक बजेट सार्वजनिक गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ४ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट पेश गर्ने कार्यक्रम छ ।

मन्त्री लिङ्थेपले संखुवासभाको प्रख्यात ‘अल्लो’ बाट बनेको झोलामा बजेट दस्तावेज बोकेर संसद प्रवेश गर्नेछन् । मन्त्री लिङ्थेपको गृहजिल्ला संखुवासभा अल्लोको कपडाका लागि प्रसिद्ध छ । गत वर्ष तत्कालीन आर्थिक मामिला मन्त्री रामबहादुर मगरले ढाकाको झोलामा बजेट ल्याएका थिए ।

यस पटक कोशी सरकारले करिब ४० अर्ब रुपैयाँ भन्दा केही बढीको बजेट ल्याउने तयारी गरेको छ । यो चालू आर्थिक वर्षको ३६ अर्ब २ करोड रुपैयाँको तुलनामा झण्डै ४ अर्ब रुपैयाँले बढी हो ।

संघीय सरकारको बजेटको आकार बढेको र अनुदान रकममा भएको वृद्धिले प्रदेशको बजेटको सिलिङ पनि बढेको हो ।

सरकारको आम्दानी र खर्चको अवस्था हेर्दा, चालू आर्थिक वर्षमा करिब ३२ अर्ब रुपैयाँ मात्र आम्दानी भएको छ । खर्चको दर गत वर्षको तुलनामा घटेको छ । गत वर्ष ८० प्रतिशत बजेट खर्च भएकोमा यस वर्ष खर्च ७० प्रतिशतको हाराहारीमा खुम्चिने अनुमान गरिएको छ ।

खर्च कम भएका कारण वैशाख मसान्तसम्म प्रदेशको सञ्चित कोषमा १२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । यही मौज्दात र संघीय अनुदानलाई आधार मानेर सरकारले आगामी वर्षका लागि महत्वाकांक्षी बजेट ल्याउन लागेको हो ।

बजेटमा विगतमा जस्तै भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई निरन्तरता दिइएको छ । तर, यसपटक शिक्षा र सूचना प्रविधिलाई विशेष प्राथमिकतामा राखिएको आर्थीक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

विशेषगरी संघीय सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क तथा ५० युनिटभन्दा बढी बिजुली खपतमा लगाएको भ्याटका कारण मारमा परेका निम्न मध्यम वर्ग र सुकुम्बासीहरूलाई राहत दिने गरी प्रदेशले केही विशेष कार्यक्रमहरू ल्याउने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्