
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानिएल मेउलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।
स्विट्जरल्यान्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा लामो समयदेखि सहयोग गर्दै आइएको विकास साझेदार हो ।
विशेष गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को क्षेत्रमा सहयोग गर्दै आएको छ ।
नेपालमा स्विस सरकारको सपोट एजेन्सी ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को अपरेसन’ (एसडीसी) को सहयोगमा सिटीईभीटीमार्फत तीन परियोजना ‘नेशनल भोकेश्नल क्वालिफिकेस सिस्टम’, इन्ह्यान्सड स्किल फर सस्टेनेवल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र क्वालिटी टेक्निकल एन्ड भोकेश्नल एजुकेशन एन्ड ट्रेनिङ फर युथ’ सञ्चालनमा रहेका छन् ।
भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र स्विट्जरल्यान्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकास तथा शिक्षा क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।