
इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-ग्भिरले अमेरिका-इरान शान्ति सम्झौताप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौता इजरायलमा लागू नहुने र इजरायल सर्तहरूको पक्ष नभएको बताए ।
बेन-ग्भिरले भने, 'इजरायल अमेरिकाको अधीनमा छैन । हामी एक स्वतन्त्र र सार्वभौम देश हौं । यो यस सम्झौताको पक्ष होइन,र यसले देशको सुरक्षाको ग्यारेन्टी गर्दैन।'
ग्भिरका अनुसार, इजरायली सेनाले दक्षिणी लेबनानमा कब्जा गरेका क्षेत्रहरूबाट पछि हट्नु हुँदैन । अमेरिका-इरानी सम्झौतामा लेबनानबारे उल्लेख भए पनि इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता नलिने पक्षमा छ । द जेरुसेलम पोस्टका अनुसार, इजरायली सेनाको नजिकको स्रोतले इरानको मागबाबजुद इजरायलको अडान परिवर्तन नहुने बताएको छ।
यसअघि, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका-इरान सम्झौतामा लेबनान समावेश भएको र त्यहाँ सैन्य कारबाही तत्काल रोक्ने सहमति भएको बताएका थिए । यद्यपि, सम्झौता अन्तिम रूप पाउनुभन्दा केही घण्टाअघि, इजरायलले बेरुतको दहियाह क्षेत्रमा आक्रमण गरेको थियो ।