
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरीले छापा हानेको छ । विराटनगरस्थित मन्त्री पराजुलीको सरकारी निवासमा गएराति ११ बजेतिर प्रहरीले छापा हानेको हो ।
प्रहरी स्रोतका अनुसार प्रहरीले उनको कोठामा पुगेर खानतलासीसमेत गरेको थियो । घटना हुँदा मन्त्री पराजुली भने विराटनगर बाहिर थिए ।
निवासमा रहेका एक कर्मचारीले पनि राति आएको प्रहरी टोलीले केही समयसम्म परिसरमा गतिविधि गरेको बताए ।
घटनाले संघीय संसद्सम्म प्रवेश पाएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा धनकुटाका सांसद राजेन्द्र राईले मन्त्री निवासमा प्रहरीले गरेको भनिएको खानतलासीबारे प्रश्न उठाउँदै सरकारसँग जवाफ मागे ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने आपराधिक गतिविधिमा संलग्न विमल भट्टराईलाई खोज्न गएको बताए । ‘हामीले छापा मारेका होइनौं। एउटा सूचना आएपछि प्रहरी त्यहाँ गएको हो,’ एसपी कटुवालले भने, ‘सूचना पुष्टि नभएपछि टोली बाहिरबाटै फर्किएको थियो।’
आपराधिक घटनामा संलग्न विमल भट्टराईको खोजीमा प्रहरी मन्त्रीको निवास नजिक मात्र पुगेको उनको दाबी छ ।
धनकुटाबाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित एमाले नेता पराजुली हाल कोशी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।