०५ असार २०८३, शुक्रबार

प्रभावकारी सेवा प्रवाहका माध्यमबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔं : राष्ट्रपति

असार १, २०८३
काठमाडौं
प्रभावकारी सेवा प्रवाहका माध्यमबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔं : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गरी देशलाई प्रगतिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताएका छन् ।

लोकसेवा आयोगको ७६औं वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले जनताको विकासको चाहना पूरा गर्नु अहिलेको आवश्यकता भएको बताए ।

राष्ट्रपति पौडेलले भने, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बलिदान गरेका जनताको चाहना मुलुकको चौतर्फी विकास हो । अभीष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल, अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक छ ।'

स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान्, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले यो भूमिकालाई परिणामुखी बनाउन सक्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले प्रविधि र ‘स्मार्ट’ सेवा प्रवाहका माध्यमबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्नेमा जोड दिए ।

संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई अझ मजबुत बनाउनु पर्ने खाँचो औंल्याउँदै राष्ट्रपतिले भने, 'आयोगप्रतिको भरोसा एवं यसले अवलम्बन गरेका सिद्धान्त र प्रणालीका कारण परिश्रमी युवाले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सन हुँदैन । विगतमा हासिल गरेको अनुभव, ज्ञानसँगै विश्वव्यापीरूपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीको अध्ययनका आधारमा आफ्ना कामलाई भविष्यमा अझ परिष्कृत गर्न आयोगले योगदान गर्ने ठानेको छु ।'

salt training

कमेन्ट गर्नुहोस्