०५ असार २०८३, शुक्रबार

'एल निनो'को प्रभावले नेपालमा मनसुन आगमन ढिलो हुने

असार २, २०८३
काठमाडौं
'एल निनो'को प्रभावले नेपालमा मनसुन आगमन ढिलो हुने

नेपालमा सामान्यतया असार जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष हालसम्म मनसुन भित्रिन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले प्रेस विज्ञप्ति जारी गर्दै मनसुन आगमन अझै केही दिन ढिलो हुन सक्ने सम्भावना रहेको जनाएको हो।

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन आगमन केही दिन पर धकेलिने संकेत देखिएको हो ।

विभागले हाल देशमा पश्चिमी वायु प्रणालीको सक्रियता र स्थानीय वायुको प्रभाव कायम रहेकाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको गतिविधि भइरहेको जनाएको छ।

विज्ञप्तिअनुसार हाल प्रशान्त महासागर क्षेत्रमा विकसित भइरहेको एल निनो क्रमशः बलियो बन्दै गएको छ। यसले नेपालसहित दक्षिण एसियाको मनसुन प्रणालीमा प्रभाव पार्ने र मनसुन कमजोर बन्ने सम्भावना देखिएको विभागको भनाइ छ । विभागले विगतका केही वर्षमा पनि एल निनोको प्रभावका कारण नेपालमा मनसुन आगमन ढिलो भएको स्मरण गराएको छ।

विभागले यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर निगरानी गरिरहेको जनाएको छ। 

यसअघि पनि एल निनोको प्रभावका कारण नेपालमा मनसुन आगमन ढिलो भएका उदाहरणहरू रहेको विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वि.सं. १९५२ मा मनसुन जुन १८ मा भित्रिएको थियो भने १९६२ मा जुन २७ र १९६३ मा जुन २४ मा प्रवेश गरेको थियो। त्यसैगरी १९६७ मा जुन १४, १९७२ मा जुन २९ तथा १९७७ मा जुन १४ मा मनसुन भित्रिएको थियो।

यस्तै, वि.सं. २००२ मा जुन १५, २००९ मा जुन २३, २०१५ मा जुन १५ र २०१९ मा जुन २० मा मनसुन प्रवेश गरेको विभागको तथ्यांकमा उल्लेख छ। पछिल्लो पटक वि.सं. २०२३ मा पनि मनसुन जुन १४ मा नेपाल भित्रिएको थियो। यी तथ्यांकहरूले एल निनो सक्रिय भएका वर्षहरूमा मनसुन आगमन सामान्य मितिभन्दा ढिलो हुने प्रवृत्ति देखिएको विभागले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्