०९ असार २०८३, मंगलबार
फिफा विश्वकप–२०२६

उपाधिको दाबेदार फ्रान्सविरुद्ध पुरानो घाउ बल्झाउने दाउमा सेनेगल

असार २, २०८३
काठमाडौं
उपाधिको दाबेदार फ्रान्सविरुद्ध पुरानो घाउ बल्झाउने दाउमा सेनेगल

फिफा विश्वकप–२०२६ को समूह ‘आई’अन्तर्गत बुधबार हुने पहिलो खेलमा उपाधिको बलियो दाबेदार फ्रान्स र अफ्रिकी टोली सेनेगल आमने–सामने हुँदैछन् ।

सेनेगल र फ्रान्सबीचको खेल अमेरिकाको न्यू योर्कस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार, बिहान ००:४५ बजे शुरू हुनेछ ।

सन् २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई १–० गोलले स्तब्ध बनाएको त्यो ऐतिहासिक नतिजाकै पुनरावृत्ति गर्ने लक्ष्यसहित ‘लायन्स अफ तेरंगा’ मैदानमा ओर्लने छ ।

पूर्वच्याम्पियन फ्रान्स भने अघिल्लो विश्वकपको पीडा बिर्सिएर सुखद शुरूआत गर्ने दाउमा छ । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसका लागि यो विश्वकप विशेष छ ।

जारी विश्वकप सकिएलगत्तै उनले जिनेदिन जिदानलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्दै फ्रान्सेली टोलीबाट बिदा लिने तयारी गरेका छन् ।

विश्वकप जित्ने खेलाडी र प्रशिक्षक दुवैको कीर्तिमान बनाइसकेका डेसच्याम्पसले विश्वकपको मञ्चमा अहिलेसम्म १४ खेल जितेका छन् ।

यो विश्वकपको समूहगत चरणमा शतप्रतिशत जित निकालेर उनी जर्मन प्रशिक्षक हेल्मुट शोनको १६ खेलको कीर्तिमान तोड्दै सर्वाधिक सफल विश्वकप प्रशिक्षक बन्ने योजनामा छन् ।

सन् २०१८ को विश्वकप विजेता फ्रान्स पछिल्लो समय उत्कृष्ट लयमा छ । केही समयअघि आइभरी कोस्टसँग पराजित भए पनि लगत्तै उत्तरी आयरल्यान्डलाई ३–१ गोलले हराउँदै टोलीले लयमा फर्किएको संकेत दिइसकेको छ ।

खासगरी, माइकल ओलिसको उत्कृष्ट प्रदर्शन र केलियन एमबाप्पेको जादुमयी लय फ्रान्सको मुख्य हतियार हुन् । एमबाप्पे हाल फ्रान्सका लागि ५६ गोल गर्दै ओलिभिर गिरोडको कीर्तिमाननजिक छन् ।

अर्कोतिर, सेनेगलका लागि प्रशिक्षक पेप थियावको उपस्थितिले विशेष अर्थ राख्छ । २४ वर्षअघि फ्रान्सलाई हराउँदा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

विश्वकप छनोटमा अपराजित रहँदै आएको सेनेगलका लागि साडियो मानेको पुनरागमन सबैभन्दा ठूलो सकारात्मक पक्ष हो ।

चोटका कारण सन् २०२२ को विश्वकप गुमाएका माने यसपटक पूर्ण रूपमा ‘फिट’ छन् र टोलीको अग्रपंक्तिको नेतृत्व गर्न तयार छन् ।

फ्रान्सका लागि विलियम सालिबाको चोट चिन्ताको विषय बनेको थियो । तर, उनी पूर्ण रूपमा ‘फिट’ भएर प्रशिक्षणमा फर्किसकेका छन् ।

सेनेगलको टोलीमा असाने डियाओ र इड्रिसा गुयेको सामान्य चोटले केही चिन्ता बढाए पनि उनीहरू उपलब्ध रहने सम्भावना छ ।

तथ्यांकले फ्रान्सको पक्षमा नतिजा देखाए पनि दुई दशकअघिको त्यो हारलाई बिर्साउन फ्रान्सेली टोलीले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

फ्रान्सेली टोलीको आक्रामक शैली र सेनेगलको रक्षात्मक सन्तुलनबीचको यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्