
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को खेलमा स्टार स्ट्राइकर एर्लिङ हालान्डको दुई गोलको मद्दतले २८ वर्षपछि पुनरागमन गरेको नर्वेले इराकलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि हालान्डले विश्वकपको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरे।
अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको उक्त खेलमा नर्वेले २९ औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। तर, खेलको ३९ औं मिनेटमा इराकका आइमेन हुसेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
००००
विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन् ।
मंगलबार राति सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।
००००
जग्गाको पूर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गर्दा नापी कार्यालय चावहिलका एक कर्मचारी रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय चावहिल, २ नं. नापी टोलीमा कार्यरत अमिन टोप जङ खत्रीलाई मंगलबार ६० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
००००
पक्राउ परेर रिहा भएका चर्चित सेफ सन्तोष साहले आफूविरुद्ध नियोजित रूपमा मानमर्दन गर्ने प्रयास भएको बताएका छन्।
उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा साहलाई हतारमा पक्राउ गरिएको भन्दै यसले उनको प्रतिष्ठा र गरिमामा आघात पुगेको उल्लेख गरिएको छ। विज्ञप्तिमा गैरीधारास्थित ‘सिला’ रेस्टुरेन्टको सम्पत्ति खरिद गरेर ‘मिथिला थाली’ सञ्चालन गरिएको र कारोबारसम्बन्धी अधिकांश रकम बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको दाबी गरिएको छ।
००००
परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन् ।
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले मंगलबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
००००
चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिएअनुसार सेवामा खटाउन अनुरोध गरेको छ ।
आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई सोमबार पत्राचार गरेर चिकित्सकको कार्यबोझ अत्यधिक समय कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक असर परेको भन्ने गुनासाहरू आयोगमा प्राप्त भएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रही सेवामा खटाउने व्यवस्था गरेर यथाशीघ्र आयोगलाई जानकारी गराउनका लागि निर्देशन दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ । रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागिएको हो ।
००००
नेकपा (एमाले)को कोशी प्रदेशस्तरीय चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा तल्लो तहका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै नेतृत्व परिवर्तनको माग गरेका छन् ।
पार्टीले अपेक्षित चुनावी नतिजा ल्याउन नसकेको र जनस्तरमा छवि कमजोर बन्दै गएको निष्कर्षसहित नेताहरूले नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा राखेका हुन् ।
००००
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
००००
देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० सङ्कलन गरेको छ ।
००००
सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।
सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरूमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अङ्कले ओरालो लागेर दुई हजार ७०५ दशमलव ४५ मा सीमित भएको छ ।
००००
चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।
००००
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूबारे प्रश्न उठेपछि फाइल खोल्ने धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।
स्वर्णिम वाग्ले वौद्धिक भनेको एटिच्युडवाला रहेको उनले टिप्पणी गरे । मंगलवार प्रतिनिधि सभामा विनियोजक विधेयकमाथि अर्थमन्त्रालयमाथि खर्च कटौती प्रस्ताव पेश गर्दै महरले ३५ वर्षका फाइल खोल्न चुनौती दिएका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ ।
पछिल्लो विवरणअनुसार ६०९ पालिका, चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ ।
००००
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
राहदानी खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई मंगलबार नियन्त्रणमा लिइएको आयोग स्रोतले जानकारी दियो ।
यसअघि आयोगको टोलीले सोमबार साँझ विभागबाट केही कागजात नियन्त्रणमा लिएको थियो ।
००००
मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीका चाइनिज विद्युतीय सवारी साधन फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।
००००
प्रतिनिधि सभा बैठकमा मंगलबार नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अनौठो नियमापत्ति गरे। सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सांसदहरुले उठेर सभामुखको सम्मान गर्नुपर्ने प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० को खण्ड ‘क’ मा उल्लेख छ ।
तर, दुई मन्त्रीहरूले सम्मान नगरेको भन्दै उनले नियमापत्ति गरेका हुन् । उनले नियमापत्ति गरेपनि सभामुख डीपी अर्यालले कुनै प्रतिक्रिया जनाएनन् ।