फुटबलको महाकुम्भ ‘फिफा विश्वकप–२०२६’को माहोल तातेको छ । विश्वभरका फुटबलप्रेमीको आँखा अहिले अमेरिकाको टेक्सासस्थित स्टेडियममा केन्द्रित छ ।
यही स्टेडियममा बिहीबार दुई बलिया टोली ‘थ्री लायन्स’ अर्थात, इङ्ल्यान्डर र ‘कट्टर प्रतिद्वन्द्वी’ क्रोएसिया आमने–सामने हुँदैछन् ।
समूह ‘एल’मा रहेका क्रोएसिया र इङ्ल्यान्डबीचको खेल नेपाली समयअनुसार, बिहीबार राति ०१:४५ बजे शुरू हुनेछ ।
पछिल्लो आठ वर्षको इतिहास हेर्ने हो भने यी दुई टोलीबीचको भिडन्त सधैं रोमाञ्चक र उत्तिकै तनावपूर्ण हुने गरेको छ ।
सन् २०१८ को विश्वकप सेमिफाइनलमा क्रोएसियाले इङ्ल्यान्डको सपना चकनाचुर पारेको थियो । त्यो विश्वकपको सेमिफाइनलमा क्रोएसियाले इङ्ल्यान्डलाई अतिरिक्त समयमा २–१ गोलले हराएको थियो ।
यद्यपि, त्यसयताका तीन भिडन्तमा भने इङ्ल्यान्ड अपराजित रहँदै आएको छ । युरो–२०२० मा १–० गोलको संघर्षपूर्ण जितपछि यी दुई टोली फेरि एकपटक ठूलो मञ्चमा आपसमा जुध्न तयार छन् ।
जारी विश्वकपको उपाधि दाबेदारका रूपमा हेरिएको इङ्ल्यान्डका लागि यो खेल निकै महत्त्वपूर्ण छ । जर्मन प्रशिक्षक थोमस टुचेलको १८ महिने कार्यकालमा धेरै उतारचढाव आए पनि, यो खेल उनको टिमका लागि पहिलो ‘मेजर टेस्ट’ हो ।
प्रशिक्षक टुचेको नेतृत्वमा इङ्ल्यान्डले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल पनि नखाई शतप्रतिशत नतिजा निकालेको थियो ।
छनोट चरणमा आठवटै खेल जित्ने क्रममा इङ्ल्यान्डले विपक्षीको पोष्टमा २२ गोल ठोकेको थियो । तर, विश्वकपको दबाब फरक हुन्छ ।
अर्कोतिर, हरेक प्रतियोगितामा ‘अन्डरडग’ मानिए पनि उत्कृष्ट नतिजा निकाल्न माहिर क्रोएसिया भने यतिबेला संक्रमणकालीन अवस्थामा छ ।
टोलीका धेरै अनुभवी खेलाडीले उमेरको दबाब झेलिरहेका छन् । यति हुँदा पनि लुका मोड्रिच र माटेओ कोभासिचजस्ता खेलाडीले भरिएको यो टोलीलाई कम आँक्ने भुल जो कोहीका लागि घातक हुनसक्छ ।
विश्वकपको शुरूआती खेलमा प्राय: टोलीहरू जोखिम उठाउन चाहँदैनन् । यसपटकको ढाँचामा तेस्रो स्थानमा रहेका टोलीहरूले पनि अर्को चरणमा पुग्ने मौका पाउने हुँदा, इङ्ल्यान्ड र क्रोएसिया दुवै बराबरीमै चित्त बुझाउन पनि तयार देखिन्छन् ।
प्रशिक्षक टुचेलको रणनीति पनि ‘व्यावहारिक’ नै देखिन्छ । उनी हतारिएर गोल खोज्नुभन्दा रक्षात्मक र संयमित खेल प्रदर्शन गर्ने पक्षमा छन् ।
अर्कातिर, क्रोएसियाको अनुभवले इङ्ल्यान्डको यो रणनीतिक खेललाई रोक्न सक्ने अनुमान गरिएको छ । फुटबल पण्डितहरू यसलाई ‘लो–स्कोरिङ’ वा ‘ड्र’को सम्भावना धेरै भएको खेलका रूपमा हेरिरहेका छन् ।
इङ्ल्यान्डले आफ्नो टोलीमा केही हेरफेर पनि गरेको छ । टिनोको अनुपस्थितिमा ट्रेभो चालोबाह टोलीमा आएका छन् ।
जोर्डन पिकफोर्डसँगै डिफेन्समा जोन स्टोन्स र मार्क गुएहीको जोडी देखिने निश्चितजस्तै छ । मिडफिल्डमा डेक्लान राइस र एलियट एन्डरसनमाथि धेरैको आँखा हुनेछ ।
१० नम्बरको भूमिकामा जुड बेलिङ्घम र मोर्गन रोजर्सबीच कडा प्रतिस्पर्धा देखिन्छ । कप्तान ह्यारी केन नै अग्रपंक्तिको मुख्य हतियार हुनेछन् ।
क्रोएसिया ३–४–३ को फर्मेसनमा मैदानमा ओर्लने सम्भावना छ । लुका मोड्रिच र माटेओ कोभासिचले मिडफिल्ड सम्हाल्नेछन् भने इभान पेरिसिचको अनुभव टोलीका लागि बरदान साबित हुन सक्छ । आक्रमणमा पेटार मुसाले मोर्चा सम्हाल्ने अपेक्षा गरिएको छ ।
समग्रमा, यो खेलमा इङ्ल्यान्डको जितको सम्भावना बलियो देखिए पनि क्रोएसियासँगको इतिहासले झस्काउन भने छाड्ने छैन । दुवै टोलीले एक–एक गोल गर्दै खेल बराबरीमा टुङ्ग्याउने सम्भावना पनि उत्तिकै छ ।
खासगरी, क्रोएसियाका युवा डिफेन्डर लुका भुस्कोभिचका लागि ह्यारी केनलाई रोक्नु सबैभन्दा चुनौतीपूर्ण काम हुनेछ ।
कप्तान केन विपक्षी टोलीका डिफेन्डरहरूलाई पेनाल्टी बक्सबाहिर तान्ने र फाउल गराउने कलामा माहिर मानिन्छन् । यही कारणले यो खेलमा केही विवादास्पद र रोमाञ्चक पलहरू पनि देखिन सक्छन् ।
भिडियो सामग्री :