
वाकी–टाकी (सञ्चार सेट) बोकेर आफूलाई प्रहरीको परिचय दिँदै सर्वसाधारणलाई धाकधम्की दिएको आरोपमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ निवासी ४७ वर्षीय शैलेश डंगोल रहेका छन् ।
प्रहरीका अनुसार असार ३ गते राति करिब ९:२५ बजे काठमाडौं महानगरपालिका–३२ स्थित फुटबल ग्राउण्ड क्षेत्रमा एक व्यक्तिले आफूलाई प्रहरी बताउँदै धाकधम्की दिएको सूचना प्राप्त भएको थियो । उक्त सूचनापछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले डंगोललाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा डंगोलले प्रयोग गरिरहेको प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारीसाधनबाट बाओफिङ्ग ब्रान्डको एक थान वाकी–टाकी सेट बरामद भएको प्रहरीले जनाएको छ ।
साथै, सवारीधनी प्रमाणपत्र (ब्लुबुक) र प्रभाव दैनिक सञ्चार संस्थाको प्रेस प्रतिनिधिका रूपमा जारी गरिएको तर नवीकरण नगरिएको पत्रकार परिचयपत्र पनि फेला परेको छ ।
बरामद सामग्रीसहित डंगोललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त नयाँ बानेश्वरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार डंगोलमाथि विभिन्न पक्षबाट अनुसन्धान भइरहेको छ ।
अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा थप कानूनी प्रक्रिया अघि बढाइने उनले बताए ।