
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न रोमाञ्चक खेलमा आयोजक मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको छ ।
यससँगै मेक्सिकोले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
एस्टाडियो ग्वाडालजारामा भएको खेलमा जितसँगै मेक्सिको जारी विश्वकपको अन्तिम ३२ मा पुग्ने पहिलो टोली बनेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको पाँचौँ मिनेटमै मेक्सिकोले अग्रता लिएको थियो। खेलको ५०औँ मिनेटमा दक्षिण कोरियाली गोलकिपरको गल्तीको फाइदा उठाउँदै लुइस रोमोले गोल गरेका थिए ।
त्यही नै निर्णायक सावित भयो। मेक्सिकोका लागि जुलियन क्विनोनेसले उत्कृष्ट प्रदर्शन गरे भने फरवार्ड राउल जिमेनेजले पनि गोलका केही राम्रा अवसरहरू सिर्जना गरेका थिए।
खेलको अन्त्यतिर दक्षिण कोरियाले बराबरी गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन। विशेष गरी ८८औँ मिनेटमा मेक्सिकन गोलकिपर राउल रंगेलले सानदार 'डबल सेभ' गर्दै दक्षिण कोरियाको निश्चित गोल टारेका थिए। इन्जुरी समयको दोस्रो मिनेटमा कोरियाका हान-बियोम लीले हेडमार्फत गोल गर्ने
सुवर्ण अवसर गुमाउँदा कोरियाली समर्थकहरू निराश बनेका थिए।
यसअघि समूह 'ए' कै अर्को खेलमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। लगातार दोस्रो जितसँगै मेक्सिको ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने दक्षिण कोरियाको अघिल्लो चरण प्रवेशको सम्भावना अब अन्तिम खेलमा निर्भर रहनेछ।