०५ असार २०८३, शुक्रबार

जुम्लामा हराएका तीन बालकको सकुशल उद्धार, दुई रात एनसेलको टावरमुनि आश्रय

असार ५, २०८३
काठमाडौं
जुम्लामा हराएका तीन बालकको सकुशल उद्धार, दुई रात एनसेलको टावरमुनि आश्रय

जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाबाट हराएका तीन बालकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । बालकहरू दुई रात एनसेल टावर मुनी आश्रय लिएर बसेको प्रहरीको भनाइ छ ।

विद्यालय जान भन्दै घरबाट निस्किएपछि बाटो बिराएर जङ्गलमा हराएका उनीहरूलाई स्थानीय र प्रहरीको संयुक्त खोजीपछि जुम्ला–कालीकोट सिमानाको उच्च लेकाली क्षेत्रमा उद्धार गरिएको हो ।

फेला परेका बालकहरूमा खड्क खत्रीका ७ वर्षीय छोरा परिवर्तन विष्ट, पदम विष्टका ८ वर्षीय छोरा प्रशान्त खत्री र विष्णु रोकायका १२ वर्षीय छोरा विनोद रोकाय रहेका छन् ।

उनीहरू सोमबार काफल खान जङ्गलतर्फ गएको र पछि बाटो बिराएर घर फर्किन नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घर नफर्किएपछि चिन्तित अभिभावक र स्थानीयले विद्यालय, गाउँका बाटा, हिमा नदी किनार, नराकोट बजारलगायत क्षेत्रमा खोजी गरेका थिए । कुनै जानकारी नभएपछि इलाका प्रहरी कार्यालय नराकोटमा खबर गरिएको थियो ।

त्यसपछि प्रहरी नायब निरीक्षक कृष्णबहादुर बुढाको नेतृत्वमा टोली परिचालन गरिएको थियो । व्यापक खोजी अभियानका क्रममा जुम्ला–कालीकोट सिमानाको खेतीखर्क नजिकको उच्च लेकाली जङ्गल क्षेत्रमा उनीहरू फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय नराकोटका सहायक हवलदार तिलकप्रसाद उपाध्यायका अनुसार बालकहरू जंगलको भित्री भागमा हराएपछि दुई रात त्यहाँ रहेको एनसेल टावरमुनि बसेर समय बिताएका थिए ।

विद्यालय पोसाकमै रहेका उनीहरूलाई भेडीगोठालाले देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

वडाध्यक्ष तीर्थ वडका अनुसार स्थानीय र प्रहरीको संयुक्त प्रयासले बालकहरूलाई सुरक्षित उद्धार गर्न सफल भएको हो ।

उद्धारपछि उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्