
बैतडीको दशरथचन्द नगरपालिका- ४ साइलेकस्थित दशरथचन्द राजमार्गमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
शुक्रबार साँझ ५:४० बजेको समयमा धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु प प्र ०१–००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २५/३० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा दशरथचन्द नगरपालिका- ६ बस्ने ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालकसहित १२ जना सवार रहेको बसका चालक भने सकुशल रहेका छन् । घाइते १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।