
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन् ।
भरतपुरमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन समारोहमा रवि लामिछाने तथा बालेन शाहको विशेष उपस्थिति रहने रास्वपाले जनाएको छ ।
महाधिवेशन स्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीका महामन्त्री भूपदेव शाहले नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको जानकारी दिए । उनले सहमतिमै नेतृत्व चयन गर्ने वातावरण बनाउन पार्टी नेतृत्व निरन्तर सक्रिय रहेको बताए ।
“सबै एकै ठाउँमा आएर मात्रै दुईतिहाइ हासिल गर्न सम्भव भएको हो । महाधिवेशनबाट पनि सबै साथीहरू सम्मानित रूपमा बाहिरिने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ,” उनले भने ।
सहमतिको प्रयास जारी रहे पनि सहमति हुन नसके लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने उनको भनाइ थियो । पार्टी जीवनको सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा महाधिवेशनलाई लिइएको उनले बताए ।
चितवनलाई महाधिवेशन स्थलका रूपमा छनोट गर्नुको कारणबारे उनले पार्टीको स्थापना र आन्दोलनसँग जोडिएको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरे । “चितवन हाम्रो उद्गम भूमि हो । पार्टीको जन्म र आन्दोलनसँग जोडिएको स्थान भएकाले महाधिवेशन यहीँ गर्ने निर्णय गरेका हौँ,” उनले भने ।