
आयोजक अमेरिकाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा आफ्नो स्थान सुरक्षित गरेको छ । समूह 'डी' अन्तर्गत गएराति सम्पन्न खेलमा अस्ट्रेलियालाई २-० ले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो ।
सियाटल रंगशालामा भएको खेलमा अमेरिकाले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो, जसलाई अस्ट्रेलियाले दोस्रो हाफमा तोड्न सकेन ।
खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको मौरिसियो पोचेटिनोको टोलीले ११ औं मिनेटमा अग्रता लियो । अमेरिकी स्ट्राइकर फोलारिन बालोगनले बाइलाइनबाट दिएको क्रसलाई बचाउने क्रममा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।
पहिलो हाफ सकिनु दुई मिनेट अगाडि अर्थात् ४३ औं मिनेटमा एलेक्स फ्रिम्यानले हेडमार्फत गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए । सर्जिनो डेस्टको प्रहार डिफ्लेक्ट भएर आएपछि फ्रिम्यानले त्यसलाई जाली चुमाएका थिए ।
खेलको सुरुवाती ४० सेकेन्डमै मोहम्मद टुरेको प्रहार जोगिएपछि अस्ट्रेलियाले खासै उल्लेख्य अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफमा २० वर्षीय युवा प्रतिभा नेस्टोरी इरानकुन्डा मैदान प्रवेश गरेपछि अस्ट्रेलियाको खेलमा केही सुधार आएको थियो । इरानकुन्डाले सिर्जना गरेको अवसरमा क्रिस्टियन भोल्पाटोले प्रहार गरेको बल क्रसबार माथिबाट बाहिरिएको थियो । खेलको अन्त्यतिर कप्तान ह्यारी साउटरले पनि गोल गर्ने अवसर गुमाएका थिए ।
सन् १९३० पछि पहिलो पटक अमेरिकाले विश्वकपका सुरुवाती दुई खेलमा लगातार जित निकाल्न सफल भएको हो । समूहको अर्को खेलमा टर्कीले पाराग्वेलाई हराउन नसकेको खण्डमा अमेरिका समूह विजेता बन्ने पक्का हुनेछ ।
यसअघि अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई ४-१ ले पराजित गरेको थियो ।
समूह चरणको अन्तिम खेलमा अमेरिकाले आगामी शुक्रबार लस एन्जलसमा टर्कीको सामना गर्नेछ भने अस्ट्रेलियाले सान्टा क्लारामा पाराग्वेसँग खेल्नेछ । हारका बाबजुद अस्ट्रेलियाको अर्को चरणमा पुग्ने सम्भावना अझै बाँकी छ ।