०९ असार २०८३, मंगलबार
फिफा विश्वकप–२०२६

पाराग्वेको ऐतिहासिक जीत, टर्की विश्वकपबाट बाहिरियो

असार ६, २०८३
काठमाडौं
पाराग्वेको ऐतिहासिक जीत, टर्की विश्वकपबाट बाहिरियो

फिफा विश्वकप २०२६ को समूह 'डी' अन्तर्गतको खेलमा पाराग्वेले टर्कीविरुद्ध १–० को ऐतिहासिक र सनसनीपूर्ण जित दर्ता गरेको छ । खेलको पहिलो हाफमै आफ्ना मुख्य खेलाडी मिगुएल आल्मिरोनले अनौठो नियमका कारण रातो कार्ड पाएर मैदान छाडेपछि १० खेलाडीमा सीमित बनेको पाराग्वेले विश्वकप इतिहासकै एउटा उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो ।

हारसँगै टर्कीको जारी विश्वकपको समूह चरण पार गर्ने सपना र आशाहरू पूर्ण रूपमा समाप्त भएका छन् ।

खेलको अन्तिम सिट्ठी बज्नेबित्तिकै टर्कीका कयौँ खेलाडीहरू मैदानमै घुँडा टेक्न पुगे भने केही खेलाडीहरू भक्कानिएर रोए । कतिपयले निराशामा आफ्नो टाउको हातले समातेका थिए ।

 टर्कीले खेलमा आफ्नो तर्फबाट सम्पूर्ण शक्ति झोकेको थियो । तथ्याङ्क हेर्ने हो भने टर्कीले खेलभरि ८० प्रतिशत बल पसेसन (नियन्त्रण) राखेको थियो । त्यस्तै, विपक्षीको डि-बक्सभित्र ५१ पटक बल छोएको टर्कीले १२ वटा कर्नरसहित कुल ३२ पटक गोलको प्रयास (शट्स) गरेको थियो ।

तर, पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध ३० पटक प्रहार गर्दा पनि गोल गर्न नसकेको टर्कीले यसमा पनि गोलको खाता खोल्न सकेन । लगातार दुई खेलमा ६२ पटक गोलको प्रयास गर्दा पनि टर्की शून्यमै रोकिनु उसको मुख्य कमजोरी बन्यो ।

यो खेल पाराग्वेको डिफेन्सका लागि सधैँ सम्झिनलायक रहनेछ । विश्वकपकै सबैभन्दा छिटो गोल गरेर १–० को अग्रता लिएको पाराग्वे आल्मिरोन बाहिरिएपछि पूर्ण रूपमा रक्षात्मक रणनीतिमा उत्रिएको थियो । टर्कीका हरेक क्रस, पास र प्रहारका अगाडि पाराग्वेका डिफेन्डरहरू ढाल बनेर उभिए ।

salt training

कमेन्ट गर्नुहोस्