
पूर्वी तराईमा गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय गन्तव्य तालतलैया शीतलता खोज्ने पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।
हरियाली वातावरण, जलाशय र बोटिङ सुविधाका कारण पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ ।
करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैयामा गर्मी मौसम शुरू भएसँगै दैनिक पर्यटकको चहलपहल बढेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले बताए ।
उनका अनुसार सामान्य दिनमा दैनिक पाँच सयभन्दा बढी पर्यटक आउने गरेकामा अहिले यो संख्या बढेर दैनिक करिब २५ सय पुगेको छ ।
यहाँ आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक सीमावर्ती भारतीय सहरबाट आउने गरेका छन् । पछिल्लो समय सिरहा र सप्तरीलगायत तराईका जिल्लाबाट पनि गर्मी छल्न आउनेको संख्या बढेको रायमाझीले बताए ।
तालतलैयाभित्र रहेका छवटा पोखरीमध्ये दुईवटा मोटरबोट सञ्चालनमा छन् । शीतल हावा र जलयात्राको अनुभव लिन पाइने भएकाले बोटिङ पर्यटकको मुख्य आकर्षण बनेको छ ।
मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले तालतलैयाको वातावरणले गर्मीबाट राहत मिल्ने बताए । ‘गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । रुखका शीतल छहारी छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि आनन्द नै बेग्लै हुन्छ’, उनले भने ।
मोरङकै कानेपोखरीबाट साथीहरूसहित घुम्न आएकी रविना थापाले फराकिलो खुला क्षेत्र, बोटिङ, फोटो स्पट, चिडियाखाना र फूलबारीका कारण तालतलैया आकर्षक गन्तव्य बनेको बताइन् । उनका अनुसार पहिले गर्मी छल्न भेडेटार जाने गरे पनि अहिले बोटिङको सुविधाका कारण तालतलैया रोज्न थालेका छन् ।
तालतलैयामा चिडियाखाना, चिल्ड्रेन पार्क, वाटर फाउन्टेन, चौतारा, बगैँचा र नर्सरीसमेत छन् । चिडियाखानामा दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा र बाँदरसहितका वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।
आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको ८५ लाख रूपैयाँ बजेटबाट आधुनिक शौचालय, पर्यटकमैत्री संरचना र चिडियाखानाको स्तरोन्नति गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
पर्यटकको संख्या बढेसँगै स्थानीय व्यवसाय पनि फस्टाउन थालेको छ । स्थानीय व्यापारी इन्दु राणाका अनुसार चटपटे, मःम, चाउमिन तथा चिसो पेय पदार्थको बिक्री उल्लेख्य रूपमा बढेको छ ।
संघीय र प्रदेश सरकारको सहयोगमा विभिन्न भौतिक संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण तथा कलात्मक मूर्ति निर्माण गरिएको तालतलैयामा एकैपटक ७० भन्दा बढी समूहले वनभोज गर्न सक्ने क्षमता रहेको छ । यसले पूर्वी नेपालकै प्रमुख मनोरञ्जन तथा वनभोज गन्तव्यका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै गएको छ ।