
बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३५५ नम्बरको बस बिहान करिब ७:१० बजे ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २३ जनालाई जिल्ला अस्पताल बाजुरामा उपचारका लागि पुर्याइएको छ । एक जना घाइतेलाई थप उपचारका लागि बयालपाटा अस्पताल अछाम पठाइएको प्रहरीले जनाएको छ । अन्य दुई जना घाइते भने आफैं मोटरसाइकलमार्फत उपचारका लागि अस्पताल गएको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर नरेश बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनाग्रस्त बस खप्तड छेडेदह गाउँपालिका–५ दोगडी निवासी ४३ वर्षीय खडक बुढाले चलाएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली खटिएको थियो । घाइतेको उद्धारका लागि बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराका एम्बुलेन्स परिचालन गरिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको नाम, ठेगाना तथा स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।