
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को प्रतिस्पर्धात्मक खेलमा युरोपेली पावरहाउस बेल्जियम इरानसँग गोलरहित (०–०) बराबरीमा रोकिएको छ । लस एन्जलसमा भएको खेलमा १० खेलाडीमा सीमित हुन पुगेको बेल्जियममाथि लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको हो ।
पाँच रक्षात्मक खेलाडीको रणनीतिका साथ मैदान उत्रिएको इरानले पहिलो हाफमा बलियो रक्षापंक्ति प्रदर्शन गर्यो । केभिन डे ब्रुएना र रोमेलु लुकाकुजस्ता अनुभवी स्टार खेलाडी सम्मिलित बेल्जियमले बलमाथि लामो समय नियन्त्रण राखे पनि गोलका स्पष्ट अवसरहरू बनाउन सकेन । ३६औँ मिनेटमा लुकाकुको हेडर बारभन्दा माथिबाट बाहिरिएको थियो भने त्यसअघि इरानका हुसेन कनानीको प्रहारलाई बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।
पहिलो हाफमा इरानका फरवार्ड मेहदी तारेमीले फ्रिकिकमार्फत गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले त्यसलाई अफसाइड ठहर गर्दै मान्यता दिएन ।
दोस्रो हाफमा पनि तारेमी र कनानीले बेल्जियमको पोस्टमा दबाब कायम राखे, जसलाई कोर्टुवाले असफल तुल्याइदिए । खेलको एक घण्टापछि बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले एकैपटक तीन खेलाडी परिवर्तन गरेपछि म्याक्सिम डे कुइपर गोल गर्न नजिक पुगेका थिए, तर इरानी गोलकिपर बाधक बने ।
खेलको टर्निङ पोइन्ट तब आयो जब कमजोर ब्याकपासको फाइदा उठाउँदै तारेमी एक्लै गोलतर्फ अघि बढेका थिए र उनलाई लडाएपछि बेल्जियमका नाथन एन्गोयले सिधै रातो कार्ड खाँदै मैदान छाड्नुपर्यो । बेल्जियम १० खेलाडीमा सीमित भएपछि बाँकी समय दुवै टोलीले सावधानीपूर्वक खेले र खेल गोलरहित टुङ्गियो ।
मैदान बाहिर पनि यो खेल निकै चर्चामा रह्यो । खेलअघि र खेलका क्रममा लस एन्जलसस्थित ठूलो इरानी–अमेरिकी समुदायका प्रदर्शनकारीहरूले इरानको वर्तमान शासनविरुद्ध रंगशाला बाहिर नाराबाजी गरेका थिए । रंगशालाभित्र राष्ट्रिय गान बज्दा केही हुटिङ सुनिए पनि खेलभरि इरानी खेलाडीहरूले दर्शकबाट उत्साहजनक समर्थन पाएका थिए ।
भिसासम्बन्धी समस्या र यात्रा प्रतिबन्धका कारण मेक्सिकोको प्रशिक्षण शिविरबाट अमेरिका आउँदा प्रभावित बनेको इरानी टोली अब प्रतिबन्ध खुकुलो भएसँगै सियाटलमा हुने अन्तिम खेलमा पूर्ण रूपमा फुटबलमा केन्द्रित हुने अपेक्षा गरिएको छ । हालसम्मका तीनवटै खेल बराबरीमा सकिएको यस समूह ‘जी’ मा दुई खेलबाट दुई अंक जोडेको बेल्जियमले अब निर्णायक मानिएको अन्तिम खेलमा न्युजिल्यान्डको सामना गर्नेछ भने इरानले नकआउट चरणमा पुग्न अन्तिम खेलमा इजिप्टसँग कम्तीमा बराबरीको नतिजा निकाल्नुपर्नेछ ।
लस एन्जलस नजिकैको रंगशालामा खेल सकिएलगत्तै, इरानको सन् १९७९ को इस्लामिक क्रान्तिपूर्वको झण्डा अंकित शर्ट लगाएका कम्तीमा एक दर्शकलाई मैदानभित्र छिर्ने प्रयास गरेको भन्दै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । खेलपछि बाहिर भएका प्रदर्शनहरू अघिल्लो सोमबारको तुलनामा शान्त रहे तापनि प्रदर्शनकारीहरूसँग झगडामा उत्रिएका एक समर्थकलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको दृष्य प्रत्यक्षदर्शीहरूले देखेका थिए ।
खेल शुरू हुनुअघि नै अमेरिकी होमल्यान्ड सेक्युरिटीका अधिकारी मार्कवेन मुलिनले इरानी टोलीले इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स'सँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्तिलाई टोलीमा समावेश गराएर अमेरिका भित्राउन खोजेको दाबी गरेपछि विवाद थप चर्किएको थियो । मुलिनले फक्स न्युजसँग कुरा गर्दै सामान्यतया विश्वकपका टोलीहरू १ सय २० जनाको समूहमा यात्रा गर्ने भए पनि अमेरिकाले इरानको हकमा ५३ जनालाई मात्र अनुमति दिएको र बाँकी व्यक्तिहरू सामान्य खेल टोलीका नभई इरानी सैन्य दस्तासँग जोडिएकाले भिसा रोकेको स्पष्ट पारेका थिए ।
इरानी फुटबल महासंघले अमेरिकी अधिकारीको दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै कडा विज्ञप्ति जारी गरेको छ । महासंघले इरानी अधिकारीलाई अमेरिकाको उडानमा चढ्नबाट रोकिएको भन्ने दाबी पूर्ण रूपमा झुठो, कपोलकल्पित र कुनै प्रमाण नभएको बताएको छ ।
साथै, यो अमेरिकाले आफूले गरेको विभेदकारी व्यवहार र अनुचित प्रतिबन्धहरूलाई लुकाउनका लागि गरेको स्पष्ट प्रयास भएको इरानको आरोप छ ।
यो विवादले जारी विश्वकपमा राजनीतिले फुटबललाई गम्भीर असर पारेको इरानको गुनासोलाई पुनः उजागर गरेको छ, जबकी स्विट्जरल्याण्डमा युद्ध अन्त्यका लागि दुई देशबीच ऐतिहासिक शान्ति वार्ता भर्खरै शुरू भएको छ ।
इरानी खेलाडी र प्रशिक्षकहरूले एरिजोनाको टुसानमा प्रशिक्षण गर्न नपाएर मेक्सिकोको टिजुआनातर्फ धाउनुपरेको र आफ्ना स्टाफहरूलाई प्रतिबन्ध लगाइएको भन्दै फिफासमक्ष उजुरी गर्नेसमेत बताएका छन् । इरानी राष्ट्रिय टोलीका खेलाडी अलिरिजा जहानबख्शले खेलपछि आफूहरू अब यी बाहिरी चुनौतीहरूमा ध्यान नदिई इजिप्टविरुद्धको आगामी खेलका लागि सियाटल प्रस्थान गर्ने र रिकभरीमा केन्द्रित हुने बताएका छन् । उनले आफूहरूले धेरै कुरा माग नगरेको र अन्य ४७ वटा टोली सरहकै समान व्यवहार मात्र चाहेको स्पष्ट पारेका छन् ।
रंगशाला बाहिर इरानी सरकारविरुद्ध केही सय मानिसहरूले प्रदर्शन गरेका थिए, जहाँ कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । रंगशाला भित्र भने आधिकारिक इरानी झण्डा भन्दा पनि क्रान्तिपूर्वको सिंह र सूर्य अंकित रातो र हरियो झण्डा बोकेका इरानी समर्थकहरू ठुलो सङ्ख्यामा उपस्थित थिए, जसमा बेल्जियम, अर्जेन्टिना, अमेरिका र मेक्सिकोका जर्सी लगाएका प्रशंसकहरूको पनि बाक्लो उपस्थिति थियो ।
इरानी मूलका केही दर्शकहरूले खेल र राजनीतिलाई मिसाउन नहुने भन्दै खेलाडीहरूको मिहिनेतको सम्मान गर्नुपर्ने बताए भने सरकारविरोधी केही प्रदर्शनकारीहरूले भने खेलाडीहरू तेहरान सरकारकै पक्षमा रहेको भन्दै आफूहरू इरानको विपक्षी टोलीको समर्थक बनेको प्रतिक्रिया दिएका छन् ।