
अस्ट्रेलियाको प्रसिद्ध मेलबर्न विश्वविद्यालयले दक्षिणी भारतमा एउटा अत्याधुनिक प्रविधि केन्द्र स्थापना गर्ने भएको छ । क्वान्टम कम्प्युटिङ, कृषि प्रविधि (एग्री–टेक), अनुसन्धान र जनशक्ति विकासमा सहकार्य गर्ने उद्देश्यले विश्वविद्यालयले तमिलनाडु औद्योगिक विकास निगमसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
दुई संस्थाबीचको सम्झौताअनुसार तमिलनाडुको तिरुभल्लुरस्थित 'तमिलनाडु नलेज सिटी'मा 'सेन्टर फर इमर्जिङ टेक्नोलोजिज' (उदीयमान प्रविधि केन्द्र) स्थापना गरिनेछ । उक्त केन्द्र नलेज सिटीको 'नलेज टावर' भित्र २०,००0 वर्ग फिट क्षेत्रफलमा फैलिएको समर्पित अनुसन्धान तथा शिक्षण केन्द्रका रूपमा रहनेछ ।
यस साझेदारीले संयुक्त अनुसन्धान, पाठ्यक्रम विकास, जनशक्ति तालिम र उद्योग-नेतृत्वको नवप्रवर्तनमा केन्द्रित भई काम गर्नेछ । केन्द्रमा गरिने अनुसन्धान गतिविधिहरू आधारभूत, व्यावहारिक र औद्योगिक क्षेत्रसँगको साझेदारीमा आधारित हुने जनाइएको छ ।
यसका साथै, शैक्षिक क्षेत्र र उद्योगहरू बीचको सम्बन्धलाई मजबुत बनाउन यस पहल अन्तर्गत प्रमाणपत्र कार्यक्रम, संयुक्त अनुसन्धान तथा विकास परियोजना, प्रोटोटाइपिङ, पाइलट टेस्टिङ, प्राविधिक कार्यशाला, आदानप्रदान कार्यक्रम र दुवै देशमा मान्यता पाउने 'ड्युअल-सर्टिफिकेसन' कोर्सहरू समेत सञ्चालन गरिनेछ ।
मेलबर्न विश्वविद्यालयका डेपुटी भाइस-चाँसलेर (ग्लोबल, कल्चर एन्ड इन्गेजमेन्ट) प्रा. माइकल वेस्लीले यो सम्झौता भारतको नवप्रवर्तन प्रणालीसँग विश्वविद्यालयको सम्बन्धलाई अझ गहिरो बनाउने दिशामा एउटा महत्त्वपूर्ण कदम भएको बताएका छन् ।
प्रा. वेस्लीले भने, 'तमिलनाडुको जीवन्त औद्योगिक वातावरणभित्र क्वान्टम कम्प्युटिङ र एग्री-टेकमा सहकार्य गरेर हामी व्यावहारिक समाधानहरू खोज्न, नयाँ अवसरहरू सिर्जना गर्न र भारत तथा अस्ट्रेलियाका जनताको उज्ज्वल भविष्यका लागि योगदान पुर्याउन चाहन्छौँ ।'
त्यसैगरी, तिड्कोका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. डी. कार्तिकेयनले यो साझेदारीले तमिलनाडुलाई उदीयमान प्रविधिको अनुसन्धान र विकासका लागि विश्वकै एक प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले मेलबर्न विश्वविद्यालयसँगको सहकार्यले यस क्षेत्रमा प्रतिभा निखार्न, अत्याधुनिक प्रविधि भित्र्याउन र अर्थपूर्ण आर्थिक अवसरहरू सिर्जना गर्न मद्दत पुग्ने बताए ।
यो सम्झौता यसै वर्षको सुरुमा भएको आशय पत्रको निरन्तरता हो, जसले अस्ट्रेलिया र भारतबीच बढ्दो शैक्षिक तथा अनुसन्धान सम्बन्धलाई थप बलियो बनाएको छ ।