
नेपाल डेरी एसोसिएसनले सुरक्षित र गुणस्तरका लागि लेबलसहितको दूध मात्रै प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । खुलाको तुलनामा पाश्चराइज गरिएको दूध बढी सुरक्षित हुने भएकाले 'लेबलिङ' र 'प्याकेजिङ' गरिएका दुग्धजन्य पदार्थको प्रयोग गर्ने बानीको विकास गर्न एसोसिएसनले भनेको छ ।
बुटवलमा सम्पन्न नेपाल डेरी एसोसिएसनको तेस्रो केन्द्रीय समिति बैठकपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले खुला दूधमा ८० प्रतिशत जोखिम हुने दाबी गरेको छ ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दहालले प्याकेजिङ गरिएका दुग्धजन्य पदार्थ प्रयोग गरे बजारमा आइरहेका मिसावटका अफवाह हटेर जाने बताए ।
अहिले देशभर, साना, मझौला र ठूला गरी ६ हजार डेरी व्यवसाय सञ्चालनमा छन् । जसमध्ये ४०० वटा उद्योगमा दर्ता भई लेबलिङ र प्याकेजिङ गर्ने गरी सञ्चालनमा रहेका एसोसिएसनले जनाएको छ ।
दूधलाई विधिकरण र शुद्धताका लागि अनुदान, सहुलियत र सरकारी सुविधा सबैलाई उपलब्ध गराउनु पर्ने अध्यक्ष दहालले माग गरे । 'दुग्ध क्षेत्र राष्ट्रको साझा सम्पत्ति हो,' अध्यक्ष दहालले भने, 'अनुदान सरकारी सुविधा कुनै एक क्षेत्रलाई मात्र सीमित नगरी उत्पादन, गुणस्तर लगानी र योगदानका आधारमा सबै डेरी उद्योगलाई समान रूपमा उपलब्ध हुनुपर्छ । समान अवसर र व्यवहारले मात्र स्वस्थ प्रतिस्पर्धा, गुणस्तरीय उत्पादन र किसानको समृद्धि सुनिश्चित हुन्छ ।'
व्यवसायीलाई भ्याटमा छुट, सहुलियतमा विद्युत्, व्यवसायका लागि प्रशासनिक झन्झट हटाउनुपर्ने, प्रविधि भित्र्याएर लागत घटाउन विभिन्न क्षेत्रको अध्ययन अवलोकन र प्रोजेक्ट हेरेर ऋण उपलब्ध गराउनुपर्ने एसोसिएसनले माग गरेको छ । एसोसिएसनका सल्लाहकार हिरा केसीले राज्यले दुग्ध विकास संस्था (डीडीसी) र डेरी एसोसिएसनलाई एउटै नजरबाट हेर्नुपर्ने बताए ।
एसोसिएसनले गोठदेखि ओठसम्म शुद्धताको साइकलमा काम गरिरहेको बताउँदै उनले दूधमा हुने मिसावट रोक्न उपभोक्तामा पनि सचेतनाको खाँचो रहेको बताए । 'दूधमा मिसावट गर्ने क्रम बढेको देखिन्छ । दूधलाई अस्थायी रूपमा फाट्न नदिन खाने सोडा प्रयोग गरेको पनि पाइन्छ । आवश्यकभन्दा बढी प्रयोग गर्नेलाई कारबाही हुन्छ। सबै व्यवसायीलाई एउटै डालोमा हाल्नु हुँदैन,' केसीले भने, 'डेरी क्षेत्रको दीर्घकालीन विकासलाई शुद्धताको केन्द्रमा राखेर एसोसिएसनले काम गरेको छ ।'
नेपालमा डेरी उद्योगको इतिहास विक्रम संवत् २००९ मा काभ्रेबाट भएको पाइन्छ ।
नेपालको डेरी उद्योग क्षेत्रमा ६० हजारले रोजगारी पाएका छन् भने ६ लाख किसान परिवार दुग्ध व्यवसायमा निर्भर छन् । डेरी व्यवसायमा निजी क्षेत्रबाट ६० अर्ब रुपैयाँ लगानी भएको छ ।
नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये ३८ लाख बजारमा आउने गर्छ । बजारमा आउनेमध्ये १७ प्रतिशत मात्र औपचारिक क्षेत्रबाट लेबलिङ र प्याकेजिङसहित बिक्री हुने गरेको छ भने बाँकी हिस्सा अझै पनि खुला तथा अनौपचारिक रूपबाट बिक्री वितरण भइरहेको छ ।