
युद्ध अन्त्यका लागि अन्तिम सम्झौतामा पुग्न अमेरिका र इरानका उच्च प्रतिनिधिमण्डलबीच स्विट्जरल्याण्डमा शुरू भएको पहिलो चरणको प्रत्यक्ष वार्ता रातभर जारी रहने भएको छ । गत हप्ता ६० दिनभित्र अन्तिम सम्झौता गरिसक्ने गरी दुई देशबीच भएको प्रारम्भिक सहमतिपछि आइतबारदेखि यो वार्ता शुरू भएको हो।
स्विट्जरल्याण्डको लुसर्न र बुरगेनस्टक रिसोर्टमा भइरहेको वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्, जसमा डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ पनि सहभागी छन्।
इरानको तर्फबाट मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची वार्तामा सहभागी छन् । वार्ताको मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री तथा सेना प्रमुख र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी पनि स्विट्जरल्याण्डमा उपस्थित छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईका अनुसार अन्तिम वार्ता शुरू गर्न आवश्यक समझदारी पत्रका बाँकी बुँदाहरूमा छलफल भएको छ। उनले हर्मुज जलमार्गबाट जहाजहरूको सुरक्षित आवतजावतका लागि एउटा संयन्त्र तयार गरिएको र तेल बिक्रीका लागि आवश्यक लाइसेन्स जारी गर्ने तथा इरानको रोक्का रहेको सम्पत्ति फुकुवा गर्ने विषयमा राम्रो प्रगति भएको दाबी गरेको बीबीसीले जनाएको छ ।
वार्ता शुरू हुनुअघि र शुरू भइसकेपछि पनि दुवै पक्षबाट आक्रामक टिप्पणीहरू आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा हिजबुल्लाहलगायत आफ्ना 'प्रोक्सीहरू' मार्फत उपद्रो मच्चाउन बन्द गर्न चेतावनी दिँदै त्यसो नगरे इरानमाथि पुनः कडा प्रहार गर्ने धम्की सामाजिक सञ्जालमार्फत दिएका छन्।
यसको जवाफ दिँदै इरानी मुख्य वार्ताकार गालिबाफले अमेरिकाको धम्कीको कुनै असर नपर्ने भन्दै आफूहरू कुरामा भन्दा काममा विश्वास गर्ने बताएका छन्। यद्यपि, अमेरिकी मुख्य वार्ताकार जेडी भान्सले इरानले क्षेत्रीय अस्थिरता फैलाउन छाड्ने र दीर्घकालीन रूपमा आणविक हतियारको महत्त्वाकांक्षा त्याग्ने हो भने अमेरिका इरानसँगको सम्बन्धलाई मौलिक रूपमै बदल्न तयार रहेको बताएका छन्। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ।
यसै हप्ताको शुरूमा अमेरिकी र इरानी राष्ट्रपतिद्वारा हस्ताक्षरित प्रारम्भिक सम्झौतामा तत्काल युद्ध अन्त्य गर्ने, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको सैन्य नाकाबन्दी हटाउने, ३०० अर्ब डलरको इरान पुनर्निर्माण योजना अघि बढाउने र अमेरिकाले इरानमाथिका सबै प्रकारका आर्थिक प्रतिबन्धहरू हटाउने उल्लेख छ। यसको बदलामा इरानले विश्वको २० प्रतिशत तेल र प्राकृतिक ग्याँस ढुवानी हुने महत्त्वपूर्ण जलमार्ग 'हर्मुज जलडमरू' खुला गर्नुपर्नेछ, जसको बन्दले विश्व बजारमा इन्धनको मूल्य बढाएको थियो।

तर, सम्झौताको मुख्य जड मानिएको इरानको आणविक कार्यक्रमबारे अझै ठोस वार्ता हुन बाँकी छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानसँगको आणविक सम्झौताबाट अमेरिकालाई अलग गराएका थिए।
तनावबीच पनि 'मरीनट्र्याफिक' को डेटा अनुसार इरानले हर्मुज बन्द गरेको दाबी गरे तापनि केही मालवाहक जहाज र ट्याङ्करहरूले उक्त जलमार्ग प्रयोग गरिरहेको देखिएको छ।
प्रारम्भिक सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध रोक्ने भनिए तापनि लेबनानमा इजरायल र हिजबुल्लाहबीचको लडाइँ झन् चर्किएको छ। इजरायली हवाई आक्रमणमा परि थुप्रै लेबनानी नागरिक मारिएपछि अमेरिकाले शुक्रबार नयाँ युद्धविरामको घोषणा गरेको थियो।
इजरायलले इरानसँगको आफ्नो युद्ध (जुन फेब्रुअरी २८ मा अमेरिका र इजरायलले मिलेर शुरू गरेका थिए) हिजबुल्लाहसँगको द्वन्द्वभन्दा फरक रहेको जिकिर गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उत्तरी इजरायलको सुरक्षाका लागि आवश्यक भएसम्म इजरायली सेना दक्षिणी लेबनानमै रहने अडान लिएका छन् भने हिजबुल्लाह प्रमुख नाइम कासिमले इजरायली सेनाको उपस्थिति अस्वीकार गर्दै प्रतिकार गर्ने बताएका छन्। इरानले भने लेबनानसहित सबै मोर्चामा युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने अडान वार्तामा राखेको छ।
मार्च २ देखि यता लेबनानमा भइरहेको युद्धमा परी ४ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने इजरायलतर्फ पनि केही सैनिक र नागरिक मारिएका छन्।