
के सरसफाइ केवल कार्यालय सहयोगीको फुर्सदको काम मात्र हो ? अथवा नाक-मुख थुनेर छिर्नुपर्ने सार्वजनिक बाथरुमहरू हाम्रो नियति नै हुन् ? धेरैका लागि यो सामान्य विषय बन्न सक्छ, तर अष्ट्रेलियाबाट फर्किएका हेमन्त घिमिरेका लागि भने यो देशको सुशासन र सभ्यता मापन गर्ने बलियो कडी हो । विदेशको सुखद भविष्यलाई थाती राखेर आफ्नै माटोमा 'हायर एन्ड फायर'को व्यावसायिक जगसहित आधुनिक सरसफाइको उद्योग खडा गरेका हेमन्तले यतिबेला बुटवल र वरपरका क्षेत्रमा फोहोर सफा मात्र गरिरहेका छैनन्, बरु वर्षौँदेखि कायम सरसफाइ सम्बन्धी सामाजिक दृष्टिकोणलाई नै 'क्लिन' गरिरहेका छन् ।
रूपन्देहीको तिलोत्तमा–८ का घिमिरे अध्ययनको सिलसिलामा डेढ दशकअघि अष्ट्रेलिया पुगे। अध्ययनसँगै अष्ट्रेलियामा सरसफाइको काम गर्ने हेमन्त कोरोना महामारी शुरू हुनुभन्दा केही समयअगाडि विवाहका लागि स्वदेश फर्किए। विवाहपछि दुवै जना फेरि विदेश जाने कि देशमै केही गर्ने भन्ने दुविधामा थिए। तर, घरमै रहेर केही गर्ने निचोडमा उनी पुगे। त्यसपछि घिमिरेले अष्ट्रेलियामा सरसफाइमा आफूले गरेको काम देशमै गर्ने गरी 'सरसफाइ डटकम' नामक कम्पनी खोले। त्यसलाई पछि 'सरसफाइ नेपाल प्रालि'मा रूपान्तरण गरी कम्पनीका रूपमा अगाडि बढाए।
कम्पनीको मूल उद्देश्य दुर्गन्धित विभिन्न सरकारी निकाय र पर्यटन क्षेत्रलाई टेन्डरमार्फत सरसफाइ गर्ने सम्झौता गरी चिटिक्क, सफा र आकर्षक बनाउनु हो। सरकारी अड्डा-अदालतमा जताततै माकुराका जाला, शौचालय दुर्गन्धित, बेसिन उस्तै दुर्गन्धित तथा भोला र पुकार खाएर जताततै पिचिक्क थुकेका टाटोपाटो देखिन्छन्। सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी पहिलो काम शुरूवात गर्ने सोचसहित हेमन्त आफ्नै तिलोत्तमा नगरपालिका पुगे। कार्यालयमा कर्मचारी र सफाइकर्मी सँगसँगै कार्यालय जाँदा कार्यालयको सरसफाइ राम्रो र प्रभावकारी थिएन। 'बिहानै कार्यालयमा पुगेर सरसफाइकर्मीले सरसफाइ गरे पो राम्रो र सुक्खा हुन्छ,' हेमन्त भन्छन्, 'सेवाग्राही आउँदासम्म रेडी भइसकेको हुन्छ र कार्यालय प्रयोग गर्न सजिलो हुन्छ। कर्मचारी, सेवाग्राही र सरसफाइकर्मी एकैपटक पुगेर क्लिनिङ गर्दा कहाँ सफाइ हुन्छ र?'
तत्कालीन मेयर वासुदेव घिमिरेसँग कुराकानी गरेर बिहान र बेलुका मान्छे राखी छ महिनाका लागि हेमन्तको टिमले पालिका सरसफाइ गर्यो। उनीहरूको कामले नगरपालिका प्रभावित भयो। पालिका नयाँ प्रशासनिक भवनमा सरेपछि सरसफाइका लागि टेन्डर खुल्यो। त्यसपछि उनीहरूले ठेक्काको माध्यमबाट काम गर्न शुरू गरे। त्यसको नतिजाले सबै जना खुसी भएको घिमिरे सुनाउँछन्। त्यसपछि बुटवल-भैरहवा सिक्स लेन सडक सरसफाइ गर्ने प्रस्ताव पालिकामा लिएर हेमन्त फेरि पुगे। 'नगरपालिकाका कर्मचारीसँगै आफ्नो तर्फबाट सुपरभाइजरसहित कर्मचारी राखेर १ वर्ष काम गरेपछि राम्रो र चिटिक्क देखियो। सडक सफाइको अभियान हामीले नै शुरू गरेका हौँ,' हेमन्त भन्छन्, 'त्यसपछि हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा सुपरभाइजरसहित हाम्रा सफाइकर्मी परिचालन गर्यौँ।' प्रादेशिक अस्पताल पनि ९ महिनामा सफासुग्गर बनाइयो। त्यहाँ बिरामी, कर्मचारी र चिकित्सकका फरक-फरक शौचालय थिए। त्यसलाई एउटै हुनुपर्छ भनेर सबैमा एकरूपता ल्याउने गरी सफाइ गरे।

त्यसपछि उनीहरूले ओमसतियाको बाटो, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका र बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा पनि सरसफाइ गरिरहेका छन्। हाल हेमन्तको टिमले विभिन्न स्कुल-कलेजहरू पनि सफा गरिरहेको छ। 'सरकारी कार्यालयका कार्यालय सहयोगीहरू पेपर आदान-प्रदानमै व्यस्त हुन्छन्, तर कार्यालय सहयोगीलाई नै सरसफाइको काममा लगाइरहेका छन्,' उनी भन्छन्, 'त्यसले कहीँ पनि नतिजा आएको छैन। सरसफाइ सेक्टरमा कम्पनीमार्फत गइयो भने 'हायर एन्ड फायर' गर्न सकिन्छ। यसले गर्दा हरेक अड्डा-अदालतमा नाक-मुख थुनेर बाथरुम जानुपर्ने अवस्था अन्त्य हुन्छ। त्यो दुर्गन्ध किन भएको हो भने, त्यहाँको जनशक्तिले काम नगरेर र के गर्दा के हुन्छ भन्ने ज्ञान नभएर यस्तो भएको हो।'
सरसफाइ जोकोहीले पनि गर्न सक्दैन, यसका लागि पनि छुट्टै ज्ञान हुनुपर्छ। हेमन्त पर्यावरणलाई कुनै असर नगर्ने केमिकल र विभिन्न उपकरण प्रयोग गरी सफाइ गर्छन्। दक्ष कर्मचारीलाई तालिम दिन्छन्। कुनै 'डाटा सेन्टर' अथवा कम्प्युटर बढी प्रयोग भएका कार्यालयमा झाडु लगाएर मात्र त सरसफाइ हुँदैन। त्यसलाई पनि त्यहीअनुसारका उपकरण उपयोग गरेर सफाइ गर्नुपर्छ। 'भ्याकुम क्लिनर र ब्रुमर प्रयोग गरी मान्छेले दिनभरि गर्ने काम एक घण्टा लगाएर गर्न सकिन्छ। हामीले घरको भित्तामा लाग्ने माकुराको जालो डन्डा बनाएर तान्ने गर्छौँ, तर त्यसका लागि छुट्टै ब्रुमर आइसकेका छन्। मैले त्यही सरसफाइमा आधुनिकीकरण भित्र्याएर काम गरिरहेको हुँ,' उनी भन्छन्।

उनी थप्छन्, 'नेपालका सबै क्षेत्रमा आधुनिकीकरण भयो, तर सरसफाइको क्षेत्रमा हुन सकेन। मैले त्यही आधुनिकीकरण भित्र्याएर काम गर्नुपर्छ भन्ने अभियानका साथ अष्ट्रेलियाको अनुभवलाई नेपालमा प्रयोग गर्न खोजिरहेको छु।'
'हामीले अहिले हर्पिक र फिनेलहरू मात्र प्रयोग गर्छौँ, यो एसिड बेस हो। यसले सफा त गर्छ तर सामानलाई बिगारिरहेको पनि हुन्छ। हामीले प्रयोग गर्ने केमिकल वातावरणलाई असर नगर्ने वा नबिगार्ने खालका मात्र हुन्छन्। यसले सफाइकर्मीलाई पनि असर गर्दैन र महँगो उपकरण पनि केमिकलले बिग्रिन दिँदैन,' हेमन्त थप्छन्।
हेमन्त अहिले सामुदायिक र संस्थागत स्कुलहरूमा पनि सरसफाइको काम गरिरहेका छन्। उनीहरूको टिमले दैनिक सेवाग्राही वा विद्यार्थी आउनुपूर्व नै कार्यालय सफा गरेर तयार पारिदिन्छ। अझै पनि धेरैजसो स्कुलका छात्र/छात्राहरू विद्यालयको शौचालयमा दुर्गन्धका कारण शौच गर्न नसकेर घर जानुपर्ने अवस्था छ।

कार्यालय जाँदा हाकिमको कार्यकक्षमा टाउकैमाथि माकुराको जालो लागेको अवस्था देखिन्छ। यो अभियानले यस्ता दुर्गन्ध र फोहोरलाई सफा गर्ने उनको भनाइ छ।
हेमन्तले अष्ट्रेलियामा बसेर सरसफाइको आधुनिक ज्ञान लिई आफ्नै देशमा अभ्यासमा रूपान्तरण गरेका छन्। अष्ट्रेलिया र युरोपको सरसफाइ अभियान एवं सीपलाई नेपालमा ढालेर काम गरिरहेका छन्। बाटोघाटोमा शौचालय बनेका छन्, तर ती प्रयोगयोग्य छैनन्। पर्यटकीय क्षेत्रमा राम्रा शौचालय हुनुपर्छ। क्लिनिङ गर्नेहरूलाई सम्मान गर्नुपर्छ। ट्वाइलेट सबै ठाउँमा सबै जना जान मिल्ने खालको हुनुपर्छ। सुशासन सुधार गर्नेले सार्वजनिक निकायका शौचालय सुधार गरेर देखाउन आवश्यक रहेको हेमन्त बताउँछन्। नेपालमा सरसफाइ क्षेत्र प्राथमिकतामा परेको छैन, यस्तो सुनौलो अभियानलाई राज्यले पनि चिन्न आवश्यक छ।