३२ असार २०८३, बिहीबार
बारीमा सुन फलाउनेहरूको कथा

सडक सञ्जालले फेरिएको डाँडाबजार- बाटोले यसरी बदल्यो किसानको भाग्य

असार १०, २०८३
विराटनगर
सडक सञ्जालले फेरिएको डाँडाबजार- बाटोले यसरी बदल्यो किसानको भाग्य

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को डाँडाबजार पुग्दा अचेल एउटा फरक रौनक भेटिन्छ । कुनै समय मकै र कोदो मात्रै फल्ने यहाँका पाखाबारीहरू अहिले काउली (फूलकोपी), मुला र धनियाँको हरियालीले ढपक्कै ढाकिएका छन् ।

यो परिवर्तन कुनै जादुले होइन, पहाडको माटो र किसानको पसिनाबीचको सम्बन्धलाई ‘बाटो’ले व्यावसायिक रूपमा जोडिदिएपछि आएको हो । आज डाँडाबजारका झन्डै ४ सयभन्दा बढी घरधुरीका लागि खेतीपाती केवल जीवन धान्ने आधार मात्र होइन, एउटा सफल व्यावसायिक उद्यम बनेको छ । सिङ्गो वडा नै तरकारी खेतीमा होमिएको यो दृश्यले जोसुकैलाई आकर्षित गर्छ ।

यही व्यावसायिक लहरमा भेटिए, तारावीर तामाङ । सशस्त्र प्रहरी बलका पूर्वहवल्दार तारावीरको हातमा अहिले बन्दुक होइन, हँसिया र कोदाली हुन्छन् । २०६३ सालको शान्ति सम्झौतापछि जागिरबाट राजीनामा दिएर माटोमा पसिना बगाउने निर्णय गरेका उनले अहिले २० रोपनी जग्गामा तरकारीको साम्राज्य खडा गरेका छन् । ‘बन्दुक बोकेर सिमाना रक्षा गर्नुको गौरव छुट्टै थियो, तर आफ्नै माटो खनेर सुन फलाउनुको सन्तुष्टि झनै बेग्लै रहेछ,’ तारावीरले विगत सम्झिए ।

उनले १५ रोपनीमा काउली र बाँकीमा मुला, मकै र भटमास लगाएका छन् । एक सिजनमा झन्डै ८० क्विन्टलसम्म काउली फलाउने उनले वार्षिक साढे ३ देखि साढे ४ लाख रुपैयाँसम्मको कारोबार गर्छन् । तारावीर जस्तै खड्गबहादुर लिम्बू र राम लिम्बूहरू पनि यहाँ व्यावसायिक रूपमा तरकारी फलाइरहेका छन् । कसैले आफ्नै जग्गामा त कसैले वार्षिक ५० हजारसम्म भाडा तिरेर लिजमा लिएको जग्गामा पसिना बगाइरहेका छन् ।

डाँडाबजारको यो व्यावसायिक रूपान्तरणमा सबैभन्दा ठुलो भूमिका ‘सडक’ र ‘यातायात’ को छ । यहा एक छिनमा कुहिरो र एक छिनमा घाम लाग्ने गर्छ । वर्षमा २ लट यहा खेती गरिन्छ । सिँचाइ अभावले कातिकदेखि भने यहाका बारी बाझै हुन्छन् ।

कृषक सीता घिमिरेका अनुसार, १५–२० वर्षअघि यहाँको स्थिति अहिलेजस्तो सुखद थिएन । ‘पहिले डोकोमा बोकेर भेडेटार वा धरानसम्म तरकारी पुर्याउनुपर्थ्यो । कतिपय तरकारी त बाटोमै कुहिन्थे,’ उनले विगतको सास्ती सम्झिइन्, ‘अहिले त सडक विस्तार भयो, व्यापारीका गाडी घरदैलोमै आउँछन् । बारीबाटै तरकारी तराजुमा चढ्छ ।’

सडक सञ्जालले गर्दा डाँडाबजारको काउली अहिले धरान, इटहरी, विराटनगर मात्र होइन, सीमापारि भारतीय बजारसम्म पुग्न थालेको छ । बाटोले बजार मात्र दिएन, किसानका छोराछोरीलाई शहरका प्रतिष्ठित कलेजसम्म पुर्याउने आर्थिक सामर्थ्य पनि दियो । सीता घिमिरेकै छोरा बेंगलुरुमा इन्जिनियरिङ सकेर काम गर्दैछन् भने छोरी धरानमा बीबीएस पढ्दैछिन् । यो सबै सफलताको जग यही तरकारी खेती नै हो, जसलाई बाटोले सहज बनाइदियो ।

पहाडको खेती सधैँ सोचेजस्तो सहज भने छैन । मौसम र सडकको लुकामारीले किसानलाई बेलाबेला ठुलो सास्ती दिन्छ । विशेषगरी बर्खाको समयमा झरीले बाटो बिगार्दा किसानको मुटु काँप्छ । ‘बर्खामा बाटो अवरुद्ध हुँदा गाडी आउन पाउँदैनन् । कोपीजस्तो संवेदनशील तरकारी गाडीमा बाफिएपछि एकैदिनमा कुहिन्छ,’ तारावीरले दुखेसो पोखे ।

null

बाटो बन्द हुँदा उत्पादन बारीमै सड्ने र बजार पुगेको तरकारीले पनि उचित मूल्य नपाउने डर सधैँ रहन्छ । त्यस्तै, अर्को ठुलो चुनौती भनेको बजार मूल्यको अस्थिरता हो । कुनै सिजनमा प्रतिकिलो ८० रुपैयाँसम्म पुग्ने काउलीको भाउ कहिलेकाहीँ २०–२५ रुपैयाँमा झर्छ । किसानले सस्तोमा बेच्नुपर्ने तर उपभोक्ताले महँगोमा किन्नुपर्ने ‘बिचौलिया’ प्रथाले यहाँका किसानलाई सधैँ पिरोल्ने गरेको छ ।

सीता भन्छिन्, ‘हामीले ३० रुपैयाँमा बेचेको तरकारी सहर पुग्दा सय रुपैयाँ पुग्छ । बीचको फाइदा सबै बिचौलियाले खान्छन्, किसानको हातमा त जेनतेन खर्च र आधा आम्दानी मात्र बच्छ ।’

व्यावसायिक खेती विस्तारसँगै माटोको स्वास्थ्य बिग्रनु र प्राविधिक परामर्श नपाउनु अर्को चिन्ताको विषय बनेको छ । पहिलेजस्तो उत्पादन नहुने, कोपीको फेदमा गिर्खा पर्ने र बिरुवा ओइलाउने रोगले उत्पादन घटाएको किसानहरूको सामूहिक गुनासो छ । तारावीर र अन्य किसानका अनुसार, गाउँपालिकाका प्राविधिकहरू बारीसम्म पुग्दैनन् । किसानहरू संगठित हुन नसक्दा र कृषि समूहहरू प्रभावकारी नहुँदा सरकारी अनुदान र आधुनिक औजारहरू वास्तविक किसानको पहुँचमा पुग्न सकेका छैनन् ।

यद्यपि, स्थानीय सरकारले केही प्रयास नगरेको भने होइन । वडाध्यक्ष खड्गबहादुर लिम्बू र गाउँपालिका अध्यक्ष जितेन्द्र राईले डाँडाबजारलाई ‘कृषि हब’ बनाउने महत्त्वाकांक्षी योजना सुनाउँछन् । वडाले वार्षिक ४ लाख रुपैयाँ बीउबिजनका लागि छुट्याएको छ भने पालिकाले केही प्रतिशत अनुदानमा बीउ वितरण गरिरहेको छ । गाउँपालिकाले ‘एक वडा, एक प्राविधिक’को नीति ल्याएर किसानलाई बारीमै परामर्श दिने दाबी गरेको छ । मिनी–टिलर र मल्चिङ प्रविधिमा अनुदान दिएर खेतीलाई आधुनिक बनाउने प्रयास भइरहेको उनीहरूको तर्क छ । तर, किसानहरू भने राज्यले उत्पादनको निश्चित मूल्य तोकिदिनुपर्ने र बिचौलियाको जालो तोड्नुपर्ने माग गर्छन् ।

भेडेटार रवि राके सडक बनिरहेको छ । कतै सडक बनिसकेको छ भने कतै निर्माणधिन छ । यो सडकले गाउमै उत्पादन बढाएको छ भने बसाइ सराई पनि घटाएको छ ।

डाँडाबजारको कथा केवल तरकारी खेतीको कथा मात्र होइन, यो एउटा दुर्गम गाउँले सडकमार्फत शहरसँग नाता गाँसेपछि गरेको आर्थिक प्रगतिको ऐना हो । मौसमले कहिले साथ दिन्छ, कहिले दिँदैन । बाटो कहिले खुल्छ, कहिले बन्द हुन्छ । तर पनि आफ्नै माटोमा भविष्य खोज्ने यहाँका किसानहरूको जाँगर भने मरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्