
देशभर मनसुनी वायुको प्रभाव रहँदा गएराति मुलुकका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य क्षेत्रको तुलनामा पूर्व र मध्य भेगमा बढी पानी परेको हो ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक र पूर्वमा सरदर स्थान आसपास छ ।
आज (बिहीबार) पनि दिउँसो र राति नै देशका धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा मुसलधारे (भारी) वर्षाको सम्भावना रहेको छ।
दिउँसोभर देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिमको तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
यस्तै, देशका पहाडी भूभागका केही स्थान र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
दिउँसो कोसी र बागमती प्रदेशको हिमाली भूभाग तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको पहाडी भूभागका साथै लुम्बिनीको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर साधारणतया बदली नै रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा र मधेश, कोसी र बागमतीका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
यस्तै, रातिको समयमा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाल, पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। देशका हिमाली भूभागका थोरै स्थानमा भने राति पनि मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना बाँकी नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा नदी नाला र खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।