
ठूला–ठूला होटलमा काम गर्ने सेफहरूको चर्चा चारैतिर सुनिन्छ। फाइभ स्टार र सेभेन स्टारका सेफहरूको समाचार पनि आइरहन्छ। टेलिभिजनमा खाना पकाएर विजेता बनेका सेफहरूको पनि छुट्टै चर्चा छ। तर घरको चुलामा खाना पकाउने गृहिणी आमाहरू, भाउजू र दिदीबहिनीहरूको चर्चा खासै सुनिँदैन। कहिलेकाहीँ खाना खाएको बेला 'खाना एकदम मिठो पकाउनुभएको रहेछ, हात मिठो लाग्यो' भन्ने कम्प्लिमेन्ट मात्र दिने गरिन्छ।
पिज्जा, बर्गर अनि पास्ता पकाउन जान्ने मान्छेलाई मात्रै सेफ भनिन्छ। खासगरी विदेशी खाना बनाएर विदेशीलाई नै खुसी पार्न सक्यो भने त्यो असली सेफको रूपमा चिनिन्छ। नेपाली खाना बनाउन जान्ने मान्छेलाई केवल भान्छे भनिन्छ, एकदमै सम्मान पाएमा कुकसम्म भनेर बोलाइन्छ। विदेशी खाना बनाउन जान्नेलाई सम्मान र स्वदेशी खाना बनाउन जान्नेलाई अवमूल्यन गरिन्छ। यसरी एउटा गरिब देशको खानाको अपमान गरिन्छ।
यहाँ राम्रो भात पकाउन जान्ने, राम्रो दाल पकाउन जान्ने, राम्रो मासु पकाउन जान्ने भनेर कोही कसैको चर्चा गरिएको छ ? त्यसरी नै त्यस्तो सीपका आधारमा कसैलाई पुरस्कार दिइएको छ? वा केवल त्यही कारणले अन्तवार्ता लिइएको छ? यस्ता आधारभूत खाना पकाउने कुरालाई लिएर वास्तवमै कहीँ औपचारिक रूपमा मान्यता दिने चलन छ त ? हाम्रा आमाहरू किन सेफको नाममा कहलिएनन् त ?
नेपाललाई कसले चिनाउँछ भन्ने सबैलाई थाहा छ। एउटा सगरमाथाले, अर्को गौतम बुद्धले, अर्को पशुपतिनाथको हिन्दू धर्मले अनि म:मले। म:म भनेको मैदाभित्र कुखुरा वा कुनै जनावरको मासु र प्याज मसला पोको पारेको खाने कुरा हो। त्यसबाहेक नेपालको खानालाई प्रायः इन्डियन खाना भनिन्छ। जसरी पास्ता र पिज्जा इटालीको हो, जसरी सी फुड, सुशी र रेमन जापानको हो, त्यसरी नै नेपालको खाना यही हो भन्ने खास केही छैन, एउटै छ: दाल, भात, तरकारी, अचार।
दाल, भात, तरकारी, अचार भन्दै गर्दा यो सामान्य खाना लाग्छ। हामी नेपाली सबैले दिनहुँ खान जान्ने, दिनहुँ पकाउन जान्ने, दाल चामल, तरकारी पनि बजारमा सजिलै किन्न पाइने जस्तो लाग्छ। हुन पनि हो , पानी हाल्यो, नुन, मसला र तेल हाल्यो, खुर्सानी हाल्यो, खाना तयार भयो। तर यसरी केवल भोक मेटाउने खाना बन्दो रहेछ, पेट मोटाउने खाना बन्दो रहेछ। सुगर, प्रेसर र डायबिटिजको खाना बन्दो रहेछ।
पर्वत जिल्ला पाङ्ग घर भई कुस्मा, पोखरामा बसोबास गरेकी र लामो समयदेखि युरोपका विभिन्न देशहरूमा काम गरेर यतिबेला पोर्चुगललाई कर्मक्षेत्र बनाएकी ब्रिन्दा रिजाल बास्तोला तिनै भान्छे हुन्, जसले विश्वका हजारौँ पाहुनालाई नेपाली खानाको स्वाद चखाइरहेकी छिन् । फेरि यो स्तम्भकारले दुई–चार छाक भात खान पाएको कारण यति प्रशंसा गरेर लेख्यो भन्ने नठान्नु होला । हो मैले ब्रिन्दा रिजाल बास्तोलाको चुलामा पाकेको नेपाली खाना खाएकै छु।
तर, उनको हातबाट पाकेको खाना खान फ्रान्सबाट एक महिनाको छुट्टी लिएर आएका पूर्वशिक्षकको जोडी पनि देखेको छु, उनीसँगै नेपाली खाना पकाउन सिक्न ग्रिनल्यान्डबाट आएका विद्यार्थी पनि देखेको छु। कुनै फाइभ स्टारमा बस्न सक्ने जापानीज फुटबल खेलाडी र रेफ्री पनि उनको किचनमा छिरेर पकाएको हेरिरहेको पनि देखेको छु। पूर्वअमेरिकी सांसद पनि उनको घर खोज्दै आएर खाना खाएको पनि देखेको छु। एलिजाबेथ नाम गरेकी पोर्चुगाली कलाकारले पनि उनको घरमा खाना खान लालायित भएको देखेको छु।

कथाको शुरूआत यसरी भयो कि, कोरोनाको समयमा उनको किराना पसलको व्यवसाय डुब्यो। लकडाउन भएपछि किनमेल गर्न कोही आएनन्। श्रीमान् रमेशराज बास्तोलाले नेपालबाट पैसा मगाएर ज्यान पाले। त्यही समयमा पहिलो सन्तान छोरा गर्भमा थिए। परिवार धेरै तनावमा थियो। पोर्चुगलमा दुई वटा घर किनेका थिए, त्यो पनि बेच्न बाध्य भइसकेका थिए। बीसौँ वर्ष युरोप बसेर कमाएको ९/१० करोडको सम्पत्ति कोरोना कालमा सखाप भइसकेको थियो । मान्छे नबस्ने खाली घर, मान्छे नआउने खाली दोकान अनि लकडाउन।
तर बिन्द्राले हिम्मत हारिनन्। त्यही बेला पुत्रलाभ पनि भयो, धेरै लामो समयको पर्खाइपछि, बिहे गरेको लगभग १० वर्षपछि। अनि ब्रिन्दाको मनमा आइडिया आयो, यो काखको बच्चाले दिएको खुशीसँगै अब म केही गर्छु, आफूले जे जानेको छु त्यही गर्छु। बिन्द्राले संसारको ६ भाषा बोल्न जानेकी छिन्, डेनिस, पोर्चुगाली, अंग्रेजी, हिन्दी, नेपाली अनि अलिअलि डच पनि। बजारमा जस्तो पनि काम पाउन सक्थिन्। तर उनको दिमागमा अर्कै केही खेलिरहेको थियो।

तपाईंहरूलाई पनि पक्कै थाहा होला, कोरोना कालपछि विश्वमा घरमै पकाएर खाने, आफैँ पकाएर खाने चलन बढेको छ। घुम्न निस्किने पर्यटकहरूले पनि होटलमा प्रायः आफैँ पकाएर खाने किचनसहितको रुम खोज्छन्। सस्तो पनि, सफा र सुरक्षित पनि। ब्रिन्दाको मनमा पनि यही आइडिया आयो, केही घरहरू रेन्टमा लिने, त्यसलाई बुकिङ वेबसाइटमा राख्ने र पाहुनाहरूलाई किचन उपलब्ध गराउने अनि त्यसको भान्छे आफू हुने।

नेपाल रहँदा पनि ब्रिन्दालाई पर्यटनसम्बन्धी धेरै कुरा थाहा थियो। उनको श्रीमान् पोखरामा पर्यटन व्यवसायको काम गर्थे, पर्यटकहरूलाई घुमाउँथे। ब्रिन्दाले त्यो देखेकी थिइन्। नभन्दै उनले देखेको सपना अगाडि बढ्यो, श्रीमान्सँग सल्लाह गरेर कटेरो होमस्टे चलाउने निर्णय भयो। पोर्चुगलमा मुख्य शहरहरूमा कटेरो होमस्टे सञ्चालनमा आयो। खासगरी लिस्बनको कटेरोमा अहिलेका शिक्षामन्त्रीदेखि मिडियाकर्मी टिकाराम यात्रीसम्मले खाना खाइसकेका छन्, बास बसिसकेका छन्।

अमेरिकाबाट आएका एक विवाहित जोडीले एकदिन बिन्द्राले पकाएको खाना खाए। त्यसपछि १९ दिनको कटेरो बसाइमा उनीहरू कहिल्यै बाहिर रेस्टुरेन्ट गएर खाना खाएनन्। विलियम र मिसेल सधैँ बिन्द्रासँगै किचनमा उभिएर हेर्थे, सँगै खाना खान्थे। 'मैले त सोचेको थिएँ, यो सबै इन्डियन खाना हो किनकि अमेरिकामा दाल स्पाइसीलाई इन्डियन भनिन्छ। मैले त्यहाँ यो कहिल्यै खाइनँ, यहाँ आएर खाएँ र यस्तो स्वादिलो कहिल्यै खाएको थिइनँ,' विलियमले थपे, 'मुसुरोको दाल अब अमेरिकामा खोजी–खोजी खान्छु।'

दुई वर्ष अगाडि फ्रान्सका एक वृद्ध बुकिङ डटकमबाट कटेरोमा नै बस्न आइपुगेका थिए। उनले शुरू–शुरूमा बाहिर खाना खान गए, किनकि उनले नेपाली खाना कहिल्यै खाएका थिएनन्। उनी बिरामी पनि रहेछन्, शरीर काँप्ने, कमजोरी महसुस हुने। एकदिन बिन्द्राले खसीको मासुमा अदुवा, लसुन, टिमुरलगायत राखेर सुप खुवाइन्। दार्चुलाबाट उपहार आएको यार्सागुम्बाको धुलोलाई पनि दूधमा मिसाएर खान दिइन्। यतिमात्रै होइन, भाङ्गोको चटनी र सिमीको दालसँग मार्सी चामलको भात पनि खुवाइन्। त्यसपछि केही दिनमै ती वृद्ध आफू निको भएको भन्दै औषधिको झोला नै फ्याँकिदिए।

केही समय अगाडि कटेरोमा नै देखिएका ती वृद्ध यसपटक २ महिनासम्म बस्ने गरी फेरि आएका छन्। बिहान उठ्छन्, मिठो चिया पिउँछन्, मरौटी र सुकमेल हालेर। फेरि सुत्छन्। दिउँसो अरू पर्यटकसँगै सामूहिक खाना खान्छन्, बिन्द्राको हातले पकाएको। प्रेशर कुकरमा पाकेको मासु, मार्सी चामल, सागसब्जी, दाल अनि विभिन्न लस्सी आइटमहरू। खाना उही हो, आगो उही हो, तर पाककला फरक, मेहनत र आइडिया फरक। विश्वमा १५० भन्दा धेरै देशका मान्छेहरूले नेपाली खानाको स्वाद चाखेर फर्किएका छन्। अनि तिनीहरू फेरि फर्किएर कटेरोमै आइपुग्छन्।

'म आफैँ आगोमा पकाउँछु, ग्यास कमै प्रयोग गर्छु। होमस्टेका सबै सुविधा छन्, ठूलो गार्डेन पनि छ। प्रायः सागसब्जी हामी आफ्नै बारीमा उमार्छौँ, मासुको लागि पनि हाम्रो आफ्नै फार्म हाउस छ। हामीले केही पनि बजारमा किन्दैनौँ,' ब्रिन्दा थप्छिन्। कतिपय दाल नेपालबाट नै मगाउँछौँ, हुम्ला जुम्लाबाट पनि आइपुग्छन्। चामल मात्रै बजारबाट किन्नु पर्छ, तर मार्सी चामल पनि प्रयोग गर्छौँ। महिनामा ३–४ लाख कमाउन सक्ने जागिर जता पनि पाउन सक्ने ब्रिन्दाले आफ्ना पाहुनाहरूको सम्मानका लागि भान्छा र फार्म हाउस छाडेर हिँड्न सकेकी छैनन्।
कटेरोमा आइपुगेका केही पर्यटकहरू त नेपाल पनि पुगिसकेका छन्, ब्रिन्दा बताउँछिन्। एकजना बुल्गेरियाका प्रोफेसरले दुई वर्ष अगाडि खीर खाएका रहेछन्। सुकमेल, नरिवल र लङ्ग मिसाएको खीर। उनले नेपाल पुगेपछि म्यासेज पठाएछन्, 'ब्रिन्दा, म त तिम्रो खीरको देशमा आएको छु।' हाँस्दै ब्रिन्दा भन्छिन्, 'मलाई अब पैसाको लोभ छैन, सबै पुगेको छ। यत्ति हो, आफ्नो पाहुना बनेर आएकालाई यसरी नै नेपाली खाना पकाएर खुवाउने, नेपाली खाना पकाउन सिकाउने।' उनी थप्छिन्, 'तर दुई जना छोरा र छोरी छन्। छोरा फुटबल खेल्छ, उसलाई खेलाडी बनाउने इच्छा छ, अनि सानी छोरीलाई उच्च शिक्षा दिने, अरू मलाई सबै पुगेको छ।'

विदेशमा नेपाली खानाको राम्रो प्रचार हुन नसकेको बिन्द्रा बताउँछिन्। सबैले त्यही मम, चाउमिन बेच्छन् अनि थकाली खाना सेट भन्दै बेचेको देखिन्छ। फाइदाको लागि र एकछिन मिठोको लागि तेल र स्पाइसीको धेरै प्रयोग हुन्छ, मसला पनि अत्यधिक प्रयोग हुन्छ, जसले सुरु, सुरुमा नेपाली खाना खाने विदेशीहरू प्रायः बिरामी पर्ने गरेको उनी बताउँछिन्। कटेरोमा खाना खाने अधिकांशले शुरूमा खान अप्ठ्यारो मान्ने र विगतमा अन्य ठाउँमा खाँदा बिरामी परेको दुखेसो सुनाउँछन्।
मुख्य कुरा सरसफाइ हो, अनि खाद्य पदार्थ अर्गानिक हुनुपर्छ। नेपाली स्वाद भनेको केमिकलको स्वाद होइन, बिन्द्रा भन्छिन्। 'मलखादमा फलेको साग नै नभए पनि केमिकल प्रयोग गरेको सागको प्रयोग गर्छु।' उनले आफ्नो खानामा प्रयोग हुने खुर्सानी, प्याज, लसुन, टमाटर, धनियाँ समेत आफैँ उत्पादन गर्छिन्, आफ्नै फार्म हाउसमा। विदेशीहरूले पनि रमाइलो पनि सघाउँछन्। उनी भन्छिन्, 'यो इको टुरिजम हो कि के भन्छन्, जे भए पनि पाहुनालाई यो मन पर्दो रहेछ। होटलमा निसास्सिएर बस्नुभन्दा यसरी प्रकृतिसँग रमाएर बस्न पाएपछि, एकपटक हाम्रो फार्ममा आएको पाहुना वर्षदिनमा फेरि फर्किएर आउँछ।'

ब्रिन्दाले नेपालमा इको टुरिजमलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने ठूलो चाहना राखेकी छिन्। उनको यो योजनामा स्थानीय उत्पादन, प्राकृतिक जीवनशैली र सांस्कृतिक अनुभवलाई मुख्य आधार बनाउने सोच समावेश छ। नेपालको प्राकृतिक सुन्दरता, शुद्ध वातावरण र हिमाली दृश्यले विश्वभरका पर्यटकलाई आकर्षित गर्न सक्ने ठूलो सम्भावना बोकेको र यस्तो प्रकारको पर्यटन विकास गर्दा विदेशबाट सहज लगानीको लागी वातावरण बन्नु पर्ने उनको बुझाइ छ।