
फिफा विश्वकप–२०२६ को समूह ‘जे’अन्तर्गतको महत्त्वपूर्ण खेलमा सोमबार साविक विजेता अर्जेन्टिना र युरोपेली राष्ट्र अस्ट्रिया आमने–सामने हुँदैछन् ।
अस्ट्रिया र अर्जेन्टिनाबीचको यो खेल अमेरिकाको टेक्सासस्थित स्टेडियममा नेपाली समयअनुसार, राति २२:४५ बजे शुरू हुनेछ ।
दुवै टोलीले पहिलो खेलमा जित हात पारिसकेकाले यो खेलको नतिजाले नकआउट चरणको यात्रा तय गर्न निर्णायक भूमिका निर्वाह गर्नेछ ।
पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको थियो भने अस्ट्रियाले जोर्डनविरुद्ध ३–१ गोलको जित निकालेको थियो । दुवै टोली ३–३ अंकसहित तालिकाको शीर्ष स्थानमा आसिन छन् ।
त्यसैले, यो खेलको विजेताले अन्तिम–३२ मा आफ्नो स्थान लगभग पक्का गर्नेछ । पराजित हुने टोलीका लागि भने अन्तिम खेल थप चुनौतीपूर्ण बन्न सक्छ ।
विश्वकपको साविक विजेता अर्जेन्टिना यसपटक पनि उच्च लयमा छ । अल्जेरियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक पूरा गर्दै आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेललाई यादगार बनाएका लियोनल मेसी टोलीको मुख्य शक्ति हुन् ।
प्रशिक्षक लियोनल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीमा लाउटारो मार्टिनेज, जुलियन अल्भारेजजस्ता फरवार्ड र एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेजजस्ता प्रभावशाली मिडफिल्डर रहेका छन् ।
आफूले खेलेका पछिल्ला पाँचवटै खेलमा जित हात पारेको अर्जेन्टिना निकै आत्मविश्वासका साथ मैदानमा ओर्लने पक्का छ ।

सन् १९९८ पछि पहिलोपटक विश्वकपमा छनोट भएको अस्ट्रिया टोली पनि आफ्नो साख जोगाउने अभियानमा रहने छ ।
प्रमुख प्रशिक्षक राल्फ रङ्निकको ‘हाइ–प्रेसिङ’ र ‘आक्रामक’ रणनीतिले अस्ट्रियालाई बलियो टोलीका रूपमा उभ्याएको छ ।
मार्को अर्नाउटोभिचको अनुभव र डेभिड अलाबाको नेतृत्वमा रहेको रक्षापंक्तिले अर्जेन्टिनालाई कडा चुनौती दिने अनुमान गरिएको छ ।
जोर्डनविरुद्धको जितले टोलीको मनोबल उच्च पारेको छ । तर, अर्जेन्टिनाजस्तो विश्वस्तरीय टोलीविरुद्धको खेल अस्ट्रियाका लागि यो प्रतियोगिताकै सबैभन्दा कठिन परीक्षा हुने पक्का छ ।
खेलको नतिजा अस्ट्रियाका मिडफिल्डर कोनराड लाइमर र अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरबीचको ‘मिडफिल्ड ब्याटल’ले निर्धारण गर्ने सम्भावना छ ।
यदि, लाइमरले म्याक एलिस्टरलाई जिल्याउन सके र मेसीसम्म बल पुग्नबाट रोक्न सके भने खेलमा अस्ट्रिया हाबी हुन सक्छ ।
अर्कोतर्फ, अर्जेन्टिनाको घातक अग्रपंक्तिले अस्ट्रियन टोलीको रक्षापंक्तिलाई कसरी छक्याउँछ, त्यो पनि हेर्न लायक हुनेछ ।
विश्वकपको इतिहासमा अर्जेन्टिना र अस्ट्रिया अहिलेसम्म आपसमा भिडेका छैनन् । त्यसैले यो खेल यी दुई टोलीबीच विश्वकपमा ऐतिहासिक र पहिलो भिडन्त हुनेछ ।
यो खेलमा अर्जेन्टिनी समर्थकहरूको ठूलो उपस्थिति रहने अनुमान गरिएको छ, जसले अस्ट्रियामाथि घरेलु मैदानमा जस्तो दबाब सिर्जना गर्नेछ ।
विश्व फुटबलका दुई फरक शैलीका टोलीबीचको यो प्रतिस्पर्धाले समूह ‘जे’को समीकरण स्पष्ट पार्नेछ ।