०९ असार २०८३, मंगलबार

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र बन्ने

असार ९, २०८३
काठमाडौं
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र बन्ने

कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्देशक मिलन चाम्सले चलचित्र निर्माण हुने जानकारी दिएका हुन् । 

उनले यसअगाडि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’जस्ता सफल ‘बायोपिक’ चलचित्र निर्देशन गरिसकेका छन् । 'यो चलचित्र निर्देशन गर्न पाउँदा म निकै खुसी छु, सर्वप्रिय कलाकारको जीवनीलाई पर्दामा उतार्न पाउनु नै मेरा लागि अवसर हो । उहाँको जीवनीलाई पर्दामा ल्याउने तयारी हुँदै गर्दा धेरै कुराहरू थाहाँ पाएँ, उहाँको जीवनी चलचित्रभन्दा कम छैन,' निर्देशक चाम्सले भने ।

अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनीलाई चलचित्रको पर्दामा ल्याउने तयारी गरिरहेका निर्माण समूहलाई धन्यवाद दिए । 'म आफूले सकेको काम गरिरहेको छु, स्वास्थ्यले साथ दिएसम्म शरीरलाई जबर्जस्ती भए पनि काममा लगाइरहनेछु । मेरो जीवनीलाई चलचित्रमा ल्याउन आट गर्नुहुने सम्पूर्ण टोलीलाई धन्यवाद । साथै, यो यात्रामा मसँगै ह अर्थात् हरिवंशको पनि उत्तिकै साथ र भूमिका छ । मेरो जीवनी उहाँ बिना अधुरो र अपुरो छ । त्यसैले म पछाडि हरिवंशको पनि जीवनी पर्दामा ल्याइने भनेपछि मैले मेरो बारेमा चलचित्र बनाउन सहमति दिएको हुँ,' अभिनेता श्रेष्ठले भने ।     

अभिनेता श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका निर्वाह गर्ने कलाकार महेश त्रिपाठीको कामको चर्चा गर्दै सुहाउँदो कलाकार छनोट भएको बताए । 'मेरो र महेशजीको पुराना तस्बिर हेर्ने हो भने उस्तै देखिन्छ, अभिनय त उहाँले गज्जबै गर्नुहुन्छ । राम्रो चलचित्र बन्छ भन्नेमा पूर्ण विश्वस्त छु,' अभिनेता श्रेष्ठले भने ।

अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको जीवनी चलचित्रका लागि उपयुक्त भएकाले दर्शकका लागि प्रतिक्षित हुने विश्वास व्यक्त गरे । उनले मह जोडी बनेर आफूहरूले गरेका काम र सहकार्यसँगै अभिनेता श्रेष्ठको जीवनीका उतारचढावलाई कलात्मक ढङ्गले चलचित्रमा देख्न पाइने बताए ।

'कोही कलाकारको नाम सानो होला, कसैको ठूलो होला । तर, सबैको जीवनीलाई लिएर चलचित्र बनाउन मिल्दैन, किनकी जीवनीमा चलचित्रका लागि चाहिने खुराक पाइँदैन । मदन दाइको जीवनीलाई मैले जति बुझेको छु, उहाँको उतारचढावले दर्शकलाई मनोरञ्जनसँगै एउटा सिकाइ पनि दिन्छ भन्ने लाग्छ । जुन समूहले चलचित्र बनाउने तयारी गर्नुभएको छ, त्यो देखेर म निकै आशावादी छु,' अभिनेता आचार्यले भने ।

अभिनेता श्रेष्ठलाई आफ्नो अभिभावकका रूपमा मान्दै आएको र सहयात्राको ४६ वर्ष पूरा भइसकेको अभिनेता आचार्यले बताए । उक्त चलचित्रमा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशङ्कर धुजु, नरेन्द्र कंशाकारको पनि सहकार्य रहनेछ । 

यस्तै, यम थापाको लेखनमा तयार हुने चलचित्रमा अभिनेत्री केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्