२३ असार २०८३, मंगलबार
फिफा विश्वकप २०२६

अल्जेरियाको कमब्याक जीत, नवप्रवेशी जोर्डन बाहिरियो

असार ९, २०८३
काठमाडौं
अल्जेरियाको कमब्याक जीत, नवप्रवेशी जोर्डन बाहिरियो

पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अल्जेरियाले फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ । मंगलबार बिहान लेभिस स्टेडियममा भएको समूह ‘जे’ को रोमाञ्चक खेलमा अल्जेरियाले विश्वकपमा डेब्यु गरिरहेको जोर्डनलाई २–१ ले पराजित गरेको हो । 

पराजयसँगै लगातार दोस्रो हार बेहोरेको जोर्डन समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताको नकआउट चरणको दौडबाट बाहिरिएको छ । 

फुटबलको महाकुम्भमा पहिलो पटक सहभागिता जनाएको जोर्डनले खेलको शुरूआतमै आक्रामक खेल प्रदर्शन गर्दै सबैलाई सरप्राइज दिएको थियो । खेलको ३६औँ मिनेटमा निजार अल रशदानले सानदार गोल गर्दै जोर्डनलाई १–० को अग्रता दिलाएका थिए । विश्वकपको इतिहासमा जोर्डनले कुनै खेलमा अग्रता लिएको यो नै पहिलो पटक थियो । तर, पहिलो हाफमा अग्रता लिएको जोर्डनले दोस्रो हाफमा अल्जेरियाको लगातारको दबाबलाई झेल्न सकेन ।

दोस्रो हाफमा अल्जेरियाले कर्नर किकमार्फत दुई गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ६९औँ मिनेटमा रियाद महरेजले प्रहार गरेको कर्नर किकलाई बक्सको बीचमा रहेका दोस्रो हाफका सब्सिच्युट खेलाडी नाधिर बेनबोआलीले हेडमार्फत उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । 

बराबरी गोलपछि खेलको मोमेन्टम पूर्ण रूपमा अल्जेरियातर्फ मोडियो । खेलको ८२औँ मिनेटमा अमिन गुइरीले बक्सभित्र बललाई टच गर्दै प्रहार गरे, जुन जोर्डनका गोलकिपर अबुलेउलालाई डिफ्लेक्ट हुँदै जाली चुम्न पुग्यो र अल्जेरियाले २–१ को निर्णायक अग्रता लियो ।

अल्जेरियाका लागि यो जित धेरै अर्थमा ऐतिहासिक बनेको छ । सन् २०१४ पछि विश्वकपमा अल्जेरियाको यो पहिलो जित हो । यसका साथै, विश्वकपको इतिहासमा पहिलो गोल खाएपछि पनि पुनरागमन गर्दै खेल जितेको अल्जेरियाको यो नै पहिलो रेकर्ड हो ।

आफ्नो पहिलो खेलमा अर्जेन्टिनासँग ३–० को पराजय भोगेको अल्जेरियाले जितसँगै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । आगामी शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा जित निकाल्न सकेमा अल्जेरिया समूह ‘जे’ मा दोस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा पुग्नेछ ।

फुटबलको सबैभन्दा ठुलो मञ्चमा पहिलो पटक उत्रिएको जोर्डनले आफ्नो खेलमार्फत कडा मिहिनेत र राम्रो छाप छोडे पनि लगातार दोस्रो हारसँगै उसको यात्रा टुङ्गिएको छ । आफ्नो पहिलो खेलमा अस्ट्रियासँग ३–१ ले पराजित भएको जोर्डन अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्