
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार उक्त ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च गरिनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एडिबीका तर्फबाट नेपालका देशीय निर्देशक आर्नो कोश्वाले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजना’का लागि ११ करोड ५० लाख अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि पाँच करोड अमेरिकी डलर परिचालन गरिनेछ।
सम्झौतापछि अर्थमन्त्री वाग्लेले नेपालको दिगो विकासमा एडिबीको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे। एडिबीका अध्यक्ष कान्डाले नेपालसँगको छ दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै देशले सामना गरिरहेका आन्तरिक तथा बाह्य आर्थिक चुनौतीमा बैंकले निरन्तर साथ दिने प्रतिबद्धता जनाए।