३० असार २०८३, मंगलबार
असार मध्यसम्म पनि लुम्बिनीमा रोपाइँ भएन

खडेरीले रोपाइँ ठप्प, ब्याडमै सुक्न थाल्यो धानको बीउ

असार ९, २०८३
बुटवल
खडेरीले रोपाइँ ठप्प, ब्याडमै सुक्न थाल्यो धानको बीउ
बाल्टनमा पानी बोकेर धानको ब्याड जोगाउँदै अर्घाखाँचीको सन्धीखर्कका एक किसान ।

असारको दोस्रो सातासम्म पानी नपर्दा लुम्बिनी प्रदेशमा धान रोपाइँ शुरू हुन सकेको छैन। विगतका वर्षहरूमा अहिलेसम्म झण्डै २५ प्रतिशत रोपाइँ भइसक्थ्यो। तर, अहिले पानी नपरेपछि पहाडी जिल्लामा फाटफुटबाहेक तराईमा रोपाइँ हुन नसकेको हो।

गत वर्ष पनि पानी नपरेर राम्रोसँग रोपाइँ गर्न नपाएका किसान यो वर्ष पनि उस्तै संकट सामना गरिरहेका छन्। कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका कृषि प्रसार अधिकृत नविन गैरेले पहाडमा सिँचाइ भएका क्षेत्रमा सामान्यबाहेक लुम्बिनीका तराईका जिल्लामा रोपाइँ हुन नसकेको बताए।

‘रोपाइँको बेला हिजोआज लुम्बिनी प्रदेशका तराईका जिल्लामा तातो हावा चलेको छ। ‘प्रि-मनसुन’मा राम्रोसँग पानी परे पनि रोपाइँ शुरू गर्ने बेला वर्षा नहुँदा किसानको रोपाइँ प्रभावित भएको छ,’ अधिकृत गैरेले भने, ‘सामान्य अवस्थामा यो समय लुम्बिनीमा २५ प्रतिशतसम्म रोपाइँ हुने समय हो।’

अन्य ११ जिल्लाको तुलनामा प्यूठानमा सिँचाइ सुविधा बढी भएको ठाउँमा रोपाइँ भइरहेको उनले बताए। रोपाइँका लागि किसानले ब्याड भने तयार गरिसकेका छन्।

रोपाइँका लागि सामान्यतया ४०० मिलिमिटर पानी पर्नुपर्छ। पूर्वबाट मनसुन भित्रिए पनि निकै कमजोर देखिएको छ। विशेषगरी लुम्बिनी प्रदेशका ६ जिल्ला अन्न भण्डारको रूपमा चिनिन्छन्। लुम्बिनीको कूल ३ लाख ३४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।

कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक रामप्रसाद पाण्डेले असार लागेपछि पानी नै पर्न नसकेकाले धान रोपाइँ हुन नसकेको बताए। ‘गत वर्ष पनि किसान सुक्खा र खडेरीको चपेटामा परेका थिए,’ पाण्डेले भने, ‘यो वर्ष पनि अहिलेसम्म पानी पर्ने सुरसार देखिँदैन। मौसम पूर्वानुमान महाशाखाले पनि यो वर्ष पानी कम पर्ने अनुमान गरेको छ।’

लुम्बिनी प्रदेशमा धान उत्पादन हुने क्षेत्रफल घट्दै जानुका साथै कृषिका लागि जलवायु परिवर्तन चुनौतीपूर्ण बन्दै गएको छ। लुम्बिनीमा आर्थिक वर्ष २०८१/८२ मा धान उत्पादन १३ लाख ५० हजार ८८० मेट्रिक टन पुगेको छ। प्रदेशभर धान खेतीको औसत उत्पादकत्व प्रतिहेक्टर ४.५२ टन रहेको तथ्याङ्कले देखाएको छ।

रूपन्देहीको मायादेवी गाउँपालिकाका किसान राहुल केवटले राम्रोसँग पानी नपर्दा खेत जोत्न र रोपाइँ गर्न नपाएको बताए। ‘रोप्न धानको ब्याड तयार छ, सिँचाइ सुविधा पनि छैन, पानी पनि अहिलेसम्म परेन,’ उनले भने, ‘अबको एक सातासम्म पनि पानी आएन भने बीउ बिग्रन थाल्छ।’ आकाशतिर हेर्दै समयमै पानी पर्ने आशामा केवट बसेका छन्। उनी थप्छन्, ‘सँगै मलखादको पनि अभाव छ। मलखाद पनि पाइँदैन। दक्षिण क्षेत्रका किसान लुकिछिपी तल्लो बाटोबाट किनेर ल्याउन बाध्य छन्।’

स्थानीय तह र सम्बन्धित निकायले मलखाद व्यवस्थापन गर्न तथा किसानलाई आवश्यक प्राविधिक उपलब्ध गराउन पनि सकेका छैनन्।

अहिले भैरहवा, नेपालगञ्ज र दाङको तापक्रम ४० डिग्रीसम्म पुगेको छ। पानी अभावका कारण रोपाइँ प्रभावित हुँदा यस वर्षको धान उत्पादन लक्ष्यमा समेत असर पर्ने चिन्ता किसानमा छ। किसानहरूले तत्काल वर्षा भई रोपाइँका लागि अनुकूल वातावरण बन्ने अपेक्षा गरेका छन्।

बाल्टनमा पानी बोकेर धानको ब्याड जोगाउँदै अर्घाखाँचीको सन्धीखर्कका एक किसान ।

तीसको दशकमा रूपन्देही, बाँके, दाङ र बर्दिया जिल्लाबाट भारत र बङ्गलादेशजस्ता देशमा ठूलो परिमाणमा धान/चामल निर्यात हुन्थ्यो। तर, अहिलेको अवस्थाले भने उल्टो तस्वीर देखाउँछ। लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका लागि धान आयात हुने गर्छ। आगामी चार महिनामा ‘सुपर एल-निनो’को प्रभाव पर्ने सम्भावनाले चरम गर्मी, लामो खडेरी र कमजोर मनसुनको जोखिम बढेको प्रक्षेपण गरिएको छ। अन्तर्राष्ट्रिय मौसम विश्लेषण ‘प्लेटफर्म’ सेभर वेदर युरोपले सार्वजनिक गरेको सन् २०२६ को दीर्घकालीन पूर्वानुमानले विश्वव्यापी मौसममा ठूलो परिवर्तन आउने सङ्केत गरेको छ।

शक्तिशाली ‘सुपर एल-निनो’ विकसित हुने सम्भावनाले गर्मी, खडेरी र अनियमित वर्षाको जोखिम बढाउने देखिएको छ। समुद्रको सतहको तापक्रम सामान्यभन्दा २ डिग्री सेल्सियसभन्दा बढीले बढ्नुलाई ‘सुपर एल-निनो’ भनिन्छ। यो प्राकृतिक जलवायु चक्र हो, जसमा प्रशान्त महासागरको पूर्वी क्षेत्रमा पानी असामान्य रूपमा तातो हुन्छ र यसले विश्वभरको मौसम प्रणालीमा ठूलो परिवर्तन ल्याउँछ।

नेपालको सन्दर्भमा एल-निनोले मुख्यत: वर्षात्को मुख्य सिजनमै पानी पार्नेछैन। मनसुन कमजोर हुनेछ, यसले पानी पर्ने चक्रलाई प्रभावित पार्नेछ। असार–असोजमा वर्षा कम हुँदा त्यसको सिधा असर खेतीपाती र खानेपानीका मुहानमा पर्नेछ तथा लामो खडेरी हुनेछ। यसले अस्वाभाविक रूपमा तापक्रम बढाउनेछ। कृषि उत्पादन, विशेषगरी धान खेतीमा प्रत्यक्ष प्रभाव पार्नेछ। साथै हिउँदमा पनि कम वर्षा हुँदा वन डढेलो र वायु प्रदूषण बढ्ने खतरा देखिएको छ।

salt training

कमेन्ट गर्नुहोस्