
फ्रान्स र इराकबीचको खेलमा पहिलो हाफको समाप्तिसम्म फ्रान्सले १-० को अग्रता बनाएको छ। फ्रान्सका लागि स्टार स्ट्राइकर किलियन एमबाप्पेले एक गोल गरे पनि खराब मौसम र चट्याङका कारण दोस्रो हाफको खेल केहीबेर प्रभावित हुन पुग्यो ।
आफ्नो देशका लागि १००औं खेल खेलिरहेका किलियन एमबाप्पेले मंगलबार बिहान भएको खेलको १४औं मिनेटमा माइकल ओलिसेको पासमा एक उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफ सकिएलगत्तै फिलाडेल्फियामा भीषण वर्षा, हावाहुरी र चट्याङ सुरु भएपछि खेल रोकिएको थियो। ६८,३२४ दर्शकहरूले खचाखच भरिएको स्टेडियममा सुरक्षाका कारण खेल स्थगित गरिएको थियो। लामो प्रतीक्षापछि वर्षा जारी रहे पनि चट्याङको खतरा टरेपछि खेल पुनः सुरु गर्ने निर्णय गरिएको हो ।
लामो ब्रेक भएका कारण दोस्रो हाफमा खेलाडीहरूलाई 'हाइड्रेशन ब्रेक' नदिइने फिफाले जनाएको छ। समूह 'आई' अन्तर्गतको अर्को खेलमा अहिले नर्वे र सेनेगल पनि प्रतिस्पर्धा गरिरहेका छन्।