
बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई १३ वर्षदेखि फरार रहेकी एक प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने चारित्रिक विल्डर्स प्रालिकी सञ्चालक सविता कार्की रहेकी छन् । उनलाई साविक पुनरावेदन अदालत पाटनको फैसलाले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो ।
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा कार्कीले चारित्रिक विल्डर्स प्रालिको नाममा बनावटी कागजात तयार गरी हाउजिङ तथा निर्माण कार्य गर्ने भन्दै कृत्रिम परियोजना खडा गरेको आरोप छ ।
त्यसका आधारमा क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारी कर्जा निकासा गराई उक्त रकम परियोजनामा लगानी नगरी दुरुपयोग गरेको अभियोग लगाइएको थियो ।
अदालतको मिति २०७१ वैशाख २९ गतेको फैसलाअनुसार कार्कीलाई तीन वर्ष कैद र आठ करोड ५० लाख रूपैयाँ जरिवाना हुने ठहर भएको थियो । उक्त सजाय कार्यान्वयन हुन नसकी उनी फरार रहेकी थिइन् ।
सीआईबीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।
पक्राउ परेकी कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ ।