
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भ्रम सिर्जना गर्ने र बेमेल सिर्जना हुने क्रियाकलाप त्याग्न आग्रह गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले बेमेल सिर्जना हुने खालका क्रियाकलाप सबैले आजैबाट त्याग्नुपर्ने बताए ।
पशुपति शम्शेर जबरालाई गालीगलौज गरिएको भन्ने विषयमा प्रष्टीकरण दिँदै उनले भने, 'पशुपति शम्शेर जबरालाई गालीगलौज गरियो रे, उहाँको अपमान गरियो रे, त्यसकारण बैठकमा उहाँहरू उपस्थित नभएको रे भन्ने प्रचार गरियो ।'
पार्टीका बैठकमा छलफल समेत नभएका विषयमा अनावश्यक प्रचार नगर्न उनले आग्रह गरे । 'जुन विषयमा बैठकमा चर्चा पनि भएको छैन, कुरा पनि भएको छैन। त्यस्तो कुरा सुनाएर अग्रजहरूलाई भ्रममा पार्ने, पार्टीमा विवाद सिर्जना गर्ने र पार्टीलाई खल्तीको रुमाल बनाउन प्रयत्न गर्ने मानिसहरू अहिले पनि जीवित छन् भन्ने कुरा त्यो क्रियाकलापले देखिन्छ,' उनले भने, 'त्यसकारण म यहीँबाट भन्न चाहन्छु- पार्टीमा भ्रम सिर्जना गर्ने, बेमेल सिर्जना हुने खालका क्रियाकलापहरू हामी सबैले आजैबाट त्यागौं । यो काममा हामी लागिरहनुपर्दैन।'
अग्रजलाई अपमान गर्ने राप्रपाको कुनै उद्देश्य नरहेको उनले स्पष्ट पारे । 'अग्रजहरूलाई अपमान गर्ने हाम्रो कुनै उद्देश्य छैन। हामी उहाँहरूलाई सम्मान गरेरै जान्छौं, त्यसमा हाम्रो कुनै प्रकारको कन्जुस्याइँ हुँदैन,' उनले भने ।